Logo

२६ चैत, काठमाडौँ । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालु अधिवेशन भोलि शुक्रबारदेखि अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अधिवेशन अन्त्य शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत २४ को सिफारिसमा २०८२ साल चैत २७ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ, राष्ट्रपति कार्यालयको पत्रमा उल्लेख छ।

अधिवेशन अन्त्य हुनुअघि भोलि शुक्रबार नै राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संवैधानिक व्यवस्थाअनुसार आम निर्वाचनपछिको संघीय संसद्को पहिलो बैठक वा नयाँ वर्षको पहिलो अधिवेशनको सुरुवातमा राष्ट्रपतिले सम्बोधन गर्ने परम्परा छ।

यो अधिवेशनको अन्त्यसँगै अब आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका लागि अर्को अधिवेशन (बजेट अधिवेशन) आह्वानको तयारी सुरु हुने देखिएको छ। संसद्को यो कार्यकालमा कतिपय महत्त्वपूर्ण विधेयकहरू विचाराधीन रहेकै अवस्थामा अधिवेशन अन्त्य हुन लागेको हो।


सम्बन्धित समाचार