२७ चैत, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै निगमको घाटा चुलिएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर २५ रुपैयाँ वृद्धि गरिएको छ । मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रका आधारमा प्रति लिटर २१६ रुपैयाँ ५० पैसादेखि २१९ रुपैयाँसम्म पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य २०४ रुपैयाँ ५० पैसादेखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिन्डर १०० रुपैयाँ वृद्धि गरेको छ, जसका कारण अब उपभोक्ताले एक सिलिन्डर ग्यासका लागि २०१० रुपैयाँ तिर्नुपर्नेछ। यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा पनि प्रति लिटर ६ रुपैयाँ बढाइएको छ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन गर्दा समेत निगमलाई पाक्षिक १० अर्ब २१ करोड ९१ लाख रुपैयाँ घाटा हुने अवस्था छ। निगमका अनुसार हाल पेट्रोलमा प्रति लिटर १६ रुपैयाँ ६५ पैसा, डिजेलमा १०९ रुपैयाँ ५० पैसा र ग्यासमा प्रति सिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा रहेको छ।
“घाटा निरन्तर भइरहेमा इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी दिन नसकिने र यसले आपूर्ति व्यवस्थापनमै असहजता सिर्जना गर्ने भएकाले मूल्य बढाउनुको विकल्प रहेन,” निगमले स्पष्ट पारेको छ ।
अहिलेको मूल्य वृद्धिपछि पनि निगमको घाटा पूर्ण रूपमा न्यूनीकरण हुन सकेको छैन । नयाँ मूल्य कार्यान्वयनमा आए पनि अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने निगमको प्रक्षेपण छ ।
निगमले इन्धन आपूर्तिलाई निरन्तरता दिन कठिन हुँदै गएको भन्दै उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन समेत विशेष आग्रह गरेको छ। यस मूल्य वृद्धिले बजारमा महँगी अझै बढ्न सक्ने भन्दै सर्वसाधारणमा चिन्ता छाएको छ ।

















