२७ चैत, काठमाडौँ । आफ्नै कार्यालयका सहयोगीलाई कार्यकक्षमै कुटपिट गरेको आरोपमा सिरहा नगरपालिकाका प्रमुख (मेयर) डा. नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकाका ५० वर्षीय कार्यालय सहयोगी रामशरण यादवलाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा उनीविरुद्ध कानुनी कारबाही अघि बढाइएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार बिहान करिब ९ बजे हाजिरी गरिरहेका रामशरणलाई नगरप्रमुख यादवले गालीगलौज गर्दै लात्ती र मुक्काले प्रहार गरेका थिए । कुटपिटबाट पीडितको शरीरका विभिन्न भागमा निलडाम बस्नुका साथै हड्डीसमेत भाँचिएको बताइएको छ। घाइते कर्मचारीको हाल विराटनगरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले नगरप्रमुख यादवमाथि अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी लिइएको जानकारी दिए । “पक्राउ पुर्जी जारी भएसँगै उहाँको खोजी कार्यलाई तीव्र पारिएको छ,” एसपी पाठकले भने ।
सोही घटनामा संलग्न रहेको आरोपमा नगरपालिकाका अर्का कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले यसअघि नै नियन्त्रणमा लिइसकेको छ । जनप्रतिनिधिले नै कर्मचारीमाथि हातपात गरेको घटना सार्वजनिक भएपछि स्थानीय प्रशासन र नगरपालिकाभित्र तनावको स्थिति सृजना भएको छ भने कर्मचारी संगठनहरूले यसको विरोध गरेका छन्। प्रहरीले फरार रहेका नगरप्रमुख यादवलाई चाँडै नियन्त्रणमा लिने दाबी गरेको छ ।

















