Logo

२७ चैत, चितवन । चितवनको व्यापारिक केन्द्र भरतपुरमा रहेको भाटभटेनी सुपरस्टोर्स झण्डै सात महिनाको लामो अन्तरालपछि आज (शुक्रबार) देखि पुनः सञ्चालनमा आउने भएको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा आक्रोशित समूहको आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको यस स्टोरलाई युद्धस्तरमा पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन लागिएको हो।

भाटभटेनी व्यवस्थापनका अनुसार आज बिहान १० बजेदेखि स्टोरले आफ्ना नियमित सेवाहरू सुचारु गर्नेछ। लामो समयको प्रतीक्षापछि स्टोर खुल्ने भएपछि स्थानीय उपभोक्ताहरू उत्साहित देखिएका छन्।

“चैत २७ गते शुक्रबारदेखि पुनः सञ्चालनमा आउने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त खुसी लागेको छ,” भाटभटेनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा ग्राहकहरूलाई पहिलेभन्दा अझ परिष्कृत र सुरक्षित वातावरणमा सेवा दिन तयार छौँ।”

भदौको आन्दोलनले भाटभटेनीको व्यावसायिक साम्राज्यमा ठूलो धक्का पुर्‍याएको थियो। भरतपुर शाखामा भएको आगजनीका कारण करोडौँको भौतिक संरचना र सामानहरू खरानी भएका थिए। तर, कम्पनीले हार नमानी आफ्ना शाखाहरूलाई क्रमशः पुरानै स्वरूपमा फर्काउने अभियान सुरु गरेको थियो।

यसअघि नै काठमाडौँको मुख्य व्यापारिक केन्द्र मानिने कोटेश्वर र महाराजगन्जका स्टोरहरूको पुनर्निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन्। ती शाखाहरूमा पनि आन्दोलनका क्रममा ठूलो क्षति पुगेको थियो।

देशभरका २८ वटा शाखाहरूमध्ये एक दर्जनभन्दा बढी स्टोरहरूमा क्षति पुगेको भए पनि भाटभटेनीले छोटो समयमै आफूलाई सम्हालेको छ। पोखरा, बुटवल, धरान र विराटनगर जस्ता सहरहरूमा रहेका शाखाहरूमा पुगेको आंशिक क्षतिलाई मर्मत गरी यसअघि नै सेवा सुचारु गरिसकिएको छ। यस्तै, काठमाडौँको बौद्ध र अन्य केही प्रभावित स्थानमा पनि पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।

भाटभटेनीको पुनरागमनले केवल उपभोक्तालाई सहजता मात्र पुर्‍याएको छैन, यसले निजी क्षेत्रको मनोबल समेत उच्च बनाएको छ। आन्दोलनका कारण रोजगारी गुम्ने डरमा रहेका सयौँ कर्मचारीहरू आफ्नै कार्यस्थलमा फर्किन पाउनुलाई सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। आज देखि भरतपुरमा सेवा सुरु भएसँगै चितवन र वरपरका जिल्लाका ग्राहकहरूले एकै छानामुनि सम्पूर्ण घरायसी सामानहरू खरिद गर्न पाउनेछन्।


सम्बन्धित समाचार