२७ चैत, काठमाडौँ । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदका लागि आज (शुक्रबार) निर्वाचन हुँदैछ । संघीय संसद् सचिवालयका अनुसार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकले नयाँ उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ ।
यस पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको समयभित्र यी दुई जनाको मात्रै नाम दर्ता भएको हो ।
श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरको प्रस्तावकमा सोही पार्टीका सांसद आर्यन राई तथा समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकै अम्बिकादेवी निरौला रहेका छन् । सदनमा एकल बहुमत रहेको रास्वपाले ठाकुरलाई समर्थन गरेपछि उनको जित लगभग निश्चित देखिएको छ। २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको एक्लै १८२ मत रहेकाले मतदानको प्रक्रियामा ठाकुर निर्वाचित हुने प्रबल सम्भावना छ ।
यता, राप्रपाकी उम्मेदवार सरस्वती लामाले आफ्नो दलका संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र सांसदहरू खुश्बु ओली, ताहिर अलि तथा भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी छन् ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख पुरुष रहेकाले उपसभामुख पदमा महिलाकै प्रतिस्पर्धा हुन लागेको हो । आजको बैठकमा दुवै उम्मेदवारको प्रस्तावमाथि छलफल भई निर्णयार्थ प्रस्तुत गरिनेछ । रास्वपाको ठूलो मतान्तरका कारण निर्वाचनको नतिजा कता जान्छ भन्ने आकलन सुरु भइसके पनि संसदीय प्रक्रियाअनुसार आज साँझसम्म मुलुकले नयाँ उपसभामुख पाउनेछ ।

















