Logo

२७ चैत, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सङ्घीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै छन् । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई नयाँ कार्यकाल सुरु भएपछि सङ्घीय संसद्को संयुक्त बैठक बस्न लागेको यो पहिलो पटक हो ।

नेपालको संविधानको धारा ९५ को उपधारा (२) मा रहेको व्यवस्थाबमोजिम राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने प्रावधान रहेको छ । सोही संवैधानिक दायित्वअनुसार राष्ट्रपति पौडेलले दिउँसो ३ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार सम्बोधनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । सचिवालयले सबै सांसदहरूलाई निर्धारित समयभन्दा १५ मिनेट अगावै अर्थात् दिउँसो पौने ३ बजेभित्रै संसद् भवनमा उपस्थित भई आसन ग्रहण गरिसक्न सूचित गरेको छ ।

राष्ट्रपतिको यस सम्बोधनलाई विशेष महत्त्वका साथ हेरिएको छ, जसमा सरकारका आगामी प्राथमिकता, राष्ट्रिय मुद्दा र संसदीय अभ्यासका विषयमा महत्त्वपूर्ण सन्देशहरू आउन सक्ने अपेक्षा गरिएको छ । सम्बोधन लगत्तै दुवै सदनका छुट्टाछुट्टै बैठकहरू बसी राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत रहेको छ ।


सम्बन्धित समाचार