Logo

२२ चैत, काठमाडौँ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले बजारबाट पुनः ठुलो परिमाणमा नगद खिच्ने भएको छ ।

नयाँ सरकार गठन भएको दुई साता बितिसक्दा पनि आर्थिक गतिविधिमा उत्साह नदेखिएको र बजारमा अधिक तरलताको चाप कायमै रहेपछि केन्द्रीय बैंकले आज शुक्रबार बोलकबोलमार्फत १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो । पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनका कारण आर्थिक क्षेत्रमा उत्पन्न शिथिलताले बैंकहरूबाट कर्जा प्रवाह हुन नसकेपछि वित्तीय प्रणालीमा पैसा थुप्रिएको हो ।

अहिले बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७८ खर्ब रुपैयाँभन्दा माथि पुगिसकेको छ, तर सोही अनुपातमा कर्जाको माग नहुँदा बैंकहरूले ब्याजदर घटाएर मुद्दती निक्षेपलाई निरुत्साहित गरिरहेका छन् । यही अवस्थालाई सन्तुलनमा ल्याउन राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत बजारको पैसा खिचेर ब्याजदर व्यवस्थापन गर्ने रणनीति लिएको छ ।

आज हुने बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन् । अनलाइन खरिद प्रणालीमार्फत हुने यो बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिई रकम बाँडफाँट गरिने केन्द्रीय बैंकले जनाएको छ ।

यस उपकरणमार्फत संकलन गरिने निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८३ वैशाख २ गते हुनेछ। इच्छुक बैंकहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको सीमासम्म बोलकबोल गर्न सक्नेछन् । खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा ६ महिनासम्मको अवधिका लागि यस्तो उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ ।

राष्ट्र बैंकको यो हस्तक्षेपले बजारमा ब्याजदरलाई एउटा निश्चित विन्दुमा स्थिर राख्न र अनुत्पादक क्षेत्रमा पुँजी परिचालन हुनबाट रोक्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार