२७ चैत, वीरगंज। चुनाव जितेपछि सांसदहरू राजधानीमै सीमित हुने र जनताबाट टाढा हुने प्रवृत्तिलाई तोड्दै पर्सा–१ का सांसद तथा रास्वपा पर्सा सभापति हरि पन्तले वीरगंजमा आफ्नै निजी सचिवालय स्थापना गरेका छन्।
हिजो पर्सा–१ का अगुवा नेताहरूको उपस्थितिमा आयोजित एक समारोहबीच सांसद पन्तले वीरगंज–८ मा निजी सचिवालयको उद्घाटन गरेका हुन्।
सचिवालय उद्घाटन गर्दै सांसद पन्तले आफू वीरगंज बाहिर रहेका बेला पनि आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई कुनै पनि प्रकारको समस्या, गाह्रो–साह्रो वा कठिनाइ परे सहयोग पुर्याउने उद्देश्यले सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिवालय टोली गठन गरिने जानकारी दिए। उनले केही दिनभित्रै टोलीलाई पूर्णता दिई सबै सदस्यहरूको नाम र मोबाइल नम्बर सार्वजनिक गरिने बताए।
सांसद पन्तले जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी काम अघि बढाइएको उल्लेख गर्दै सबै सरकारी कार्यालयहरूलाई सेवा प्रवाहमा ढिलासुस्ती नगर्न निर्देशन दिइसकेको बताए। यदि कतै अनावश्यक ढिलाइ भए सचिवालयबाट सार्वजनिक गरिने सम्पर्क नम्बरमा जानकारी गराउन उनले सर्वसाधारणलाई आग्रह गरे।
उद्घाटन कार्यक्रममा रास्वपा पर्साका उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, युबराज पटेल, दीपेन्द्र मण्डल, राम बाबू सिंह, महबुब आलम, सगीर अन्सारी, विशाल कुमार, सुमित चौरसिया, राजु गुप्ता, दिनेश गुप्ता, राम लामा, त्रिनेश गिरि, पूर्ण सापकोटा, सम्साद आलम, शन्नी गुप्ता, रामेश्वर साह, आलोक मिश्र, सालिक पौडेल लगायतका नेता तथा १९ वटै वडाका निर्वाचन परिचालन समितिका संयोजक, उपसंयोजक र शुभेच्छुकहरूको समेत उल्लेख्य उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए।




















