२७ चैत,वीरगञ्ज । बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ।
प्रहरी चौकी गन्जभवानीपुरबाट खटिएको टोलीले बारा जिल्ला अदालतबाट सजाय तोकिएपछि फरार रहेका ५२ वर्षीय महमद फिरोज देवानलाई पक्राउ गरेको हो। उनलाई महागढीमाई नगरपालिका–१० स्थित तरकारी बजारबाट बिहीबार लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार देवानलाई अदालतले उक्त मुद्दामा १० दिन कैद र १४ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय तोकेको छ।
पक्राउ परेका देवानलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बारा जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

















