Logo

२७ चैत,काठमाडौं । पोखरा महानगरपालिका–८, सभागृहचोकमा बुधबार एक महिलाको हत्या भएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मृतक सिर्जना पौडेल केसी आफ्नै भाञ्जाको आक्रमणबाट मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको विवरणअनुसार पारिवारिक विवादकै कारण उक्त हत्या भएको निष्कर्ष निकालिएको छ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पर्वत कुश्मा नगरपालिका–११ शिल्मीका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी र उनका साथी ३२ वर्षीय कुशल परियारलाई पक्राउ गरेको जनाएको छ। केसीलाई बुटवल–२ मनकामना टोलबाट र परियारलाई पोखरा–१७ रातोपहिराबाट नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा केसी आपराधिक पृष्ठभूमिका व्यक्ति भएको खुलेको छ। उनीविरुद्ध यसअघि अभद्र व्यवहार तथा चोरी–डाँका सम्बन्धी मुद्दा दर्ता भइसकेका थिए। त्यस्तै, परियार पनि लागुऔषध सम्बन्धी मुद्दामा विगतमा कारबाहीमा परिसकेका व्यक्ति हुन्।

प्रहरीले घटनामा प्रयोग गरिएको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा–७ मुस्ताङचोकबाट बरामद गरेको छ भने धारिलो हतियार खुँडा पोखरा–१६ बिरौटास्थित तितेपानी जंगलबाट फेला पारेको जनाएको छ।

प्रहरीका अनुसार मृतक सिर्जना पौडेल केसीले कास्की जिल्ला अदालतबाट बकसपत्र सम्बन्धी मुद्दा जितेर पतिको अंश उपभोग गरिरहेकी थिइन्। तर उक्त सम्पत्ति फिर्ता गराउन पतितर्फका आफन्तबाट दबाब आउने गरेको थियो। यही विषयलाई लिएर पारिवारिक विवाद चर्किँदै गएको देखिएको छ।

सिर्जनाको केही वर्षअघि कृष्ण केसीसँग विवाह भएको थियो। उनका श्रीमानको दुई वर्षअघि निधन भएको थियो भने उनीहरूकी तीन वर्षीया एक छोरी छन्।

घटनामा संलग्न दुवै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्। उक्त कसुरअन्तर्गत दोषी ठहरिएमा जन्मकैदसम्मको सजाय हुन सक्ने व्यवस्था रहेको छ।


सम्बन्धित समाचार