Logo

२७ चैत, काठमाडौँ । आगामी नयाँ आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु भएसँगै अर्थ मन्त्रालयले सुरक्षा र गोपनीयतालाई मध्यनजर गर्दै आफ्नो पहुँच मार्गमा कडाइ गरेको छ ।

मन्त्रालयको पार्किङ क्षेत्रबाट भित्र प्रवेश गर्न मिल्ने दक्षिणतर्फको ढोका सूचना नै टाँस गरेर पूर्ण रूपमा बन्द गरिएको हो । बजेटका विषयमा सरोकारवालाहरूसँगको छलफल र मन्त्रालयभित्रको आन्तरिक गृहकार्य तीव्र पारिएकाले अनावश्यक भीडभाड र सूचनाको चुहावट रोक्न मन्त्रालयले यो कदम चालेको हो ।

विगतका वर्षहरूमा सामान्यतया बजेट सार्वजनिक हुनुभन्दा दुई साताअघि मात्रै मन्त्रालयमा सर्वसाधारण र अन्य व्यक्तिको प्रवेशमा नियन्त्रण गर्ने गरिए पनि यसपटक भने डेढ महिना अगावैदेखि कडाइ गरिएको छ । सिंहदरबारभित्र प्रवेश गर्ने जोकोहीलाई पनि अन्य समयमा अर्थ मन्त्रालयका कार्यकक्षसम्म पुग्न कुनै विशेष सोधपुछ नहुने भए तापनि बजेट निर्माणको संवेदनशील समयमा भने मन्त्रालय सधैँ सतर्क रहने गर्दछ ।

बजेटका प्रारम्भिक मस्यौदा र प्राथमिकताहरू निर्धारण भइरहेको यो चरणमा अनधिकृत व्यक्तिको प्रवेशले काममा बाधा पुग्ने भन्दै मन्त्रालयले प्रवेश निषेधको सूचना जारी गरेको हो ।

मन्त्रालयले टाँस गरेको सूचनामा नयाँ आर्थिक वर्षको बजेट छलफल कार्यक्रम चलिरहेकाले अर्को व्यवस्था नभएसम्मका लागि सो बाटो प्रयोग नगर्न अनुरोध गरिएको छ । बजेट निर्माण टोली र सम्बन्धित अधिकारीहरू बाहेकका लागि मन्त्रालयको पहुँच साँघुरो बनाइएपछि अब बजेट निर्माण कार्यले थप गति लिने देखिएको छ ।

सरकारले आगामी बजेटलाई बढी व्यवहारिक र प्रभावकारी बनाउने दाबी गरिरहेका बेला अर्थ मन्त्रालयले अपनाएको यो उच्च सतर्कतालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार