२७ चैत, काठमाडौँ । यातायात व्यवस्था कार्यालय पोखरामा सरकारी विद्युतीय अभिलेख नै सच्याएर नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने गिरोहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा कदम चालेको छ ।
२० वर्षअघि नै जारी भएको देखाउने गरी झुट्टा विवरण प्रविष्ट गरेर अनियमितता गरेको ठहर गर्दै अख्तियारले तत्कालीन प्रशासन अधिकृत शंकर थापा र कम्प्युटर अपरेटर जगत ढकालसहित तीन जना विरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । व्यक्तिगत लाभका लागि राज्यको गोप्य प्रणालीमा अनधिकृत पहुँच पुर्याई लाइसेन्स धन्दा चलाएको अनुसन्धानबाट पुष्टि भएको छ ।
अख्तियारको अनुसन्धान प्रतिवेदन अनुसार बागलुङका हिम बहादुर बस्नेतको नाममा कहिल्यै जारी नै नभएको पुरानो लाइसेन्स नम्बरलाई आधार बनाएर सरकारी रेकर्डमा कीर्ते गरिएको भेटिएको छ । अधिकृत थापा र अपरेटर ढकालले मिलेमतो गरी बस्नेतको नाममा एर बी वर्गको लाइसेन्स २०५८ सालमै जारी भएको झुट्टा विवरण प्रणालीमा राखेका थिए ।
सोही गलत लिखतका आधारमा २०७८ सालमा नवीकरण भएको देखाएर प्रतिलिपि समेत जारी गरिएको पाइएको छ । यसरी सरकारी अभिलेखमाथि नै जालसाजी गरेर अयोग्य व्यक्तिलाई लाइसेन्स दिलाउनु गम्भीर अपराध भएको अख्तियारको ठहर छ ।
सरकारी कागजात सच्याएर भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले कर्मचारीद्वय थापा र ढकालका साथै लाभ लिने सेवाग्राही बस्नेतलाई समेत प्रतिवादी बनाएर सजायको मागदाबी गरेको छ । कर्मचारीहरूको प्रत्यक्ष संलग्नतामा प्रणालीभित्रै बसेर गरिएको यस्तो कीर्ते कार्यले सुशासन र सार्वजनिक सुरक्षामाथि ठुलो प्रश्नचिन्ह खडा गरेको छ ।
विशेष अदालतमा दायर गरिएको यस मुद्दाले यातायात क्षेत्रमा हुने प्रणालीगत भ्रष्टाचारमा संलग्न अन्य कर्मचारीहरूलाई पनि कडा चेतावनी दिएको रूपमा हेरिएको छ ।

















