२७ चैत,काठमाडौं । कतारले पवित्र रमदानको अवसर पारेर तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कतारी अमिरले रमदानको विशेष अवसरमा ती नेपालीलाई आममाफी दिएका हुन्।
यस निर्णयपछि नेपाल सरकारले कतारप्रति आभार व्यक्त गरेको छ। नेपालले लामो समयदेखि कतारसँग रहेको कूटनीतिक सम्बन्ध अझ प्रगाढ र सुदृढ भएको जनाएको छ। आममाफीबाट नेपाली नागरिक लाभान्वित भएपछि दुई देशबीचको आपसी विश्वास र सहयोग अझ मजबुत हुने नेपालले विश्वास व्यक्त गरेको छ।
कतारले यसअघि पनि रमदान तथा अन्य विशेष अवसरहरूमा कैदीबन्दीहरूलाई आममाफी दिने परम्परा कायम राख्दै आएको छ।

















