२८ चैत, काठमाडौँ । सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ३० वर्षीय युवा सांसद रामजी यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई तेस्रो स्थानमा खुम्च्याउँदै विजयी भएका यादव पहिलो प्रयासमै मन्त्री बन्न सफल भएका हुन् ।
सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण गरेका यादव आठ वर्षसम्म रोजगारी र सामाजिक कार्यमा सक्रिय थिए । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैली र अभियानबाट प्रेरित भएर राजनीतिमा होमिएका उनले सन् २०२२ मा भारतको प्रतिष्ठित ‘आईआईटी मद्रास’बाट इनर्जी सिस्टममा स्नातकोत्तर (मास्टर्स) गरेका छन् । विद्यावारिधि (पिएचडी) का लागि अस्ट्रेलिया जाने अन्तिम तयारीमा रहेका बेला चुनाव घोषणा भएपछि उनी देशमै रोकिएर चुनावी मैदानमा उत्रिएका थिए ।
सुरुमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा आबद्ध यादव पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए । सोही क्षेत्रबाट २०७९ को चुनाव जितेका डा. सीके राउतलाई यसपटक तेस्रो स्थानमा धकेल्दा यादवको चर्चा राष्ट्रिय स्तरमै चुलिएको थियो । उनले २८ हजार ४०४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जसपाका उमेश यादवलाई १४ हजार १४१ मतान्तरले पराजित गरेका थिए । सो निर्वाचनमा डा. राउत भने ९ हजार ८८० मतमा खुम्चिएका थिए ।
सामान्य किसान परिवारमा जन्मिएका यादवले १३ वर्षअघि नै बुवा सुरतलाल यादवलाई गुमाएका थिए । आफ्नो संघर्षपूर्ण यात्राका क्रममा उनले नेपाल इन्जिनियर्स एसोसिएसनको जिल्ला इन्चार्ज, राजविराज जेसिजको उपाध्यक्ष र मधेस सम्पर्क समितिको नेतृत्वदायी भूमिका सम्हालि सकेका छन् ।
परराष्ट्र मामिला, जलवायु नीति र दिगो विकासमा विशेष रुचि राख्ने इन्जिनियर यादवले अब देशको श्रम बजार व्यवस्थापन र वैदेशिक रोजगारीका चुनौती समाधान गर्ने गहन जिम्मेवारी पाएका छन् । मन्त्री नियुक्त भएपछि उनले आफ्नो क्षेत्रका नागरिकका समस्यासँगै देशको श्रम क्षेत्रमा व्यापक सुधार ल्याउने र युवाहरूका पक्षमा काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । इन्जिनियरिङको प्राविधिक ज्ञान र सामाजिक अभियानको अनुभवले मन्त्रालयको कार्यसम्पादनमा नयाँपन आउने अपेक्षा गरिएको छ।

















