Logo

२८ चैत, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै मधेस प्रदेशकी जुझारु नेतृ गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सुम्पेकाछन्  । सरकार गठन भएदेखि प्रधानमन्त्री शाह आफैँले सम्हाल्दै आएका यस महत्त्वपूर्ण मन्त्रालयको कार्यभार अब ५४ वर्षीया यादवको काँधमा आएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित यादवलाई पार्टी र सरकार दुवैले उच्च विश्वासका साथ मन्त्री पदमा नियुक्त गरेका हुन् ।

महोत्तरीको साम्सी गाउँपालिकास्थित संग्रामपुरको ग्रामीण परिवेशमा जन्मिएर हुर्किएकी यादवको राजनीतिक उदय निकै रोचक र प्रेरणादायी छ । रामएकवाल राय यादवकी छोरी र शिवजी यादवकी श्रीमती रहेकी उनी तराई-मधेसको सामाजिक संरचना, स्थानीय समस्या र जनजीवनसँग नजिकबाट परिचित छिन् ।

विज्ञान संकायमा प्रमाणपत्र तहसम्मको शिक्षा हासिल गरेकी यादवले राजनीतिलाई केवल शक्ति आर्जनको माध्यम नभई महिला सशक्तीकरण र सामाजिक सुधारको औजार बनाउँदै आएकी थिइन् । शिक्षित महिला नेतृत्वको खडेरी परेको भनिने मधेसको राजनीतिमा उनले सुशासन र पारदर्शिताको मुद्धा उठाएर नयाँ मानक स्थापित गरेकी छिन् ।

परम्परागत र क्षेत्रीय दलहरूको बलियो पकड रहेको मधेसमा ‘वैकल्पिक राजनीति’ को झण्डा बोकेर हिँड्नु यादवका लागि निकै चुनौतीपूर्ण थियो । तर, महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ का जनताले उनको नयाँ विचार र स्पष्ट दृष्टिकोणलाई अनुमोदन गरे ।

निर्वाचनका क्रममा दिग्गज र स्थापित उम्मेदवारहरूलाई पछि पार्दै ३० हजार १३२ मतका साथ विजयी हुनुले मधेसमा परिवर्तनको भोक रहेको प्रस्ट पारेको थियो । विशेषगरी युवा र शिक्षित वर्गको मतलाई आफ्नो एजेन्डामा आकर्षित गर्न सफल यादव अब संसदीय राजनीतिबाट सिधै कार्यकारी भूमिकामा पुगेकी छिन् ।

नवनियुक्त मन्त्री यादवसामु अब अवसर र चुनौतीका पहाडहरू समान छन् । देशमा थला परेका रुग्ण उद्योगहरूको पुनरुत्थान गर्ने र वैदेशिक लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण गर्नु उनको मुख्य कार्यभार हुनेछ ।

यस्तै, चाडपर्व नजिकिँदै गर्दा हुने मूल्यवृद्धि नियन्त्रण, दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्ने र कालोबजारी रोक्ने विषय उनको पहिलो परीक्षाको रूपमा हेरिएको छ । आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्दै निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्न उनले कस्तो कदम चाल्नेछिन् भन्नेमा अहिले आम सर्वसाधारण र निजी क्षेत्रको ध्यान केन्द्रित भएको छ ।


सम्बन्धित समाचार