२८ चैत, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् । भारतको ग्वालियरस्थित आईटीएम विश्वविद्यालयमा आयोजना हुने प्रतिष्ठित ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन उनी आगामी वैशाख १ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसर पारेर विगत ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस व्याख्यान कार्यक्रममा डा. भट्टराईलाई ‘प्रमुख वक्ता’ को रूपमा निमन्त्रणा गरिएको छ । उनीसँगै पूर्वमन्त्री एवं नेतृ हिसिला यमि पनि उक्त कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । दक्षिण एसियाली राजनीति र समाजवादी चिन्तनमा दख्खल राख्ने डा. भट्टराईले त्यहाँ लोहियाको राजनीतिक दर्शन र वर्तमान परिवेशबारे आफ्नो धारणा राख्नेछन्।
भट्टराईको सचिवालयका अनुसार ग्वालियरको कार्यक्रम समापन गरी उनी वैशाख २ गते नयाँ दिल्ली पुग्नेछन् । सोही दिन उनले दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीद्वारा आयोजित एक विशेष कार्यक्रममा समेत सहभागिता जनाउनेछन् ।
भारतमा हुने यी दुई महत्त्वपूर्ण प्राज्ञिक तथा राजनीतिक कार्यक्रममा सहभागी भएर डा. भट्टराई वैशाख २ गते साँझ नै स्वदेश फर्कने कार्यक्रम तय भएको छ । पूर्वप्रधानमन्त्री भट्टराईको यस भ्रमणलाई दुई देशबीचको प्राज्ञिक आदानप्रदान र वैचारिक सम्बन्ध विस्तारका रूपमा हेरिएको छ ।

















