२८ चैत, काठमाडौँ । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई झण्डै एक करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुल्गेरिया पठाइदिने बहानामा विभिन्न व्यक्तिहरूबाट ९१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा सल्यानका दुई युवक पक्राउ परेका हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले सल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र वनगाड कुपिन्डे नगरपालिका–८ का २४ वर्षीय घने बुढालाई नियन्त्रणमा लिएको हो । उनीहरूले बेरोजगार युवाहरूलाई युरोपेली मुलुक बुल्गेरिया पुगेपछि राम्रो कमाइ हुने सपना देखाएर मोटो रकम असुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार, पीडितहरूले दिएको उजुरीका आधारमा उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। “आकर्षक तलब सुविधाको प्रलोभनमा पारेर ठूलो रकम ठगी गरेको देखिएपछि हामीले उनीहरूलाई पक्राउ गरेका हौँ,” प्रवक्ता कार्कीले भने ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ। पछिल्लो समय युरोप पठाउने नाममा वैदेशिक रोजगारीमा जाने युवाहरू ठगिने क्रम बढेपछि प्रहरीले आफ्नो सक्रियता तीव्र पारेको छ। प्रहरीले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अगाडि बढाउन र लेनदेन गर्दा सचेत रहन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

















