२९ चैत, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे दुई देशबीच सैद्धान्तिक सहमति भए पनि भ्रमणको औपचारिक मिति तय हुन भने केही समय लाग्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा स्वीकार गर्दै प्रधानमन्त्री शाहले ‘उचित समयमा’ भ्रमण गर्ने जवाफ फर्काएका छन् ।
मौरिससमा जारी नवौँ हिन्द महासागर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको ‘साइडलाइन’ वार्तामा यसबारे प्रारम्भिक छलफल भएको हो । परराष्ट्रमन्त्री खनालका अनुसार नयाँ सरकारले नेपाल-भारत सम्बन्धका विविध आयाम र आफ्ना प्राथमिकताहरूको समीक्षा गरिरहेकाले उच्चस्तरीय भ्रमणअघि पर्याप्त गृहकार्य आवश्यक देखिएको छ ।
“नेपाल र भारतबीच गहिरो राजनीतिक, आर्थिक र जनस्तरको सम्बन्ध छ। हामी अहिले आफ्ना प्राथमिकताहरू निर्धारण गर्दैछौँ,” मन्त्री खनालले भने, “त्यो प्रक्रिया सकिएपछि विभिन्न संयन्त्रमार्फत छलफल गर्ने र उच्चस्तरीय भ्रमणको तयारी गर्नेबारे भारतीय विदेशमन्त्रीसँग सकारात्मक कुराकानी भएको छ।”
प्रधानमन्त्रीको औपचारिक भ्रमण हुनुअघि तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने हुनेछ । नेपालले आफ्ना प्राथमिकताहरू तय गरेपछि विदेश सचिव मिश्री सद्भावना भ्रमणमा काठमाडौँ आउने र सोही क्रममा प्रधानमन्त्रीको भ्रमणको प्राविधिक तयारी समेत गरिने बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेश सचिवको भ्रमण आगामी एक महिनाभित्रै हुन सक्नेछ ।
प्रधानमन्त्रीको भ्रमणअघि परराष्ट्रमन्त्री खनालले समेत भारतको भ्रमण गर्ने सम्भावना रहेको छ । पुरानो कूटनीतिक प्रचलनअनुसार कार्यकारी प्रमुखको भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्रीले भ्रमण गरी एजेन्डाहरूलाई अन्तिम रूप दिने गरिन्छ ।
मौरिसस भ्रमणका क्रममा मन्त्री खनालले भारतबाहेक भुटान, बंगलादेश, मौरिसस र सिंगापुरका विदेशमन्त्रीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गरेका छन् । नेपाल र भारतबीच रहेका ४० भन्दा बढी दुईदेशीय संयन्त्रहरूलाई सक्रिय बनाएर सहकार्यलाई थप सघन बनाउने विषयमा समेत दुवै पक्ष सहमत भएका छन् । यसले प्रधानमन्त्री शाहको आगामी भारत भ्रमणलाई थप नतिजामुखी बनाउने अपेक्षा गरिएको छ ।

















