२९ चैत, काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो राष्ट्रिय आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आउँदो वैशाख २ गते बुधबारदेखि देशभर एकसाथ सुरु हुने यस गणनाका लागि आवश्यक गणक तथा सुपरिवेक्षकहरू आफ्नो कार्यक्षेत्रमा पुगिसकेका छन् । झण्डै पाँच हजार जनशक्ति परिचालन गरिएको यो अभियान आगामी असार पहिलो हप्तासम्म चल्नेछ ।
यस ऐतिहासिक गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, सार्वजनिक संस्था, गैरसरकारी संस्थादेखि लिएर सरकारी तथा निजी विद्यालय र अस्पतालसम्मको विवरण सङ्कलन गरिनेछ ।
आर्थिक क्षेत्रका कूल १८ वटा विधालाई समेट्ने गरी तयार पारिएको यस गणनाले देशभर रहेका साना–ठूला, दर्ता भएका र नभएका सम्पूर्ण व्यावसायिक प्रतिष्ठानहरूको यथार्थ चित्रण गर्ने उद्देश्य राखेको छ । गणनाबाट प्रतिष्ठानको सङ्ख्या, लगानी, रोजगारीको अवस्था र उत्पादन एवं सेवा प्रवाहको तथ्याङ्क प्राप्त हुनेछ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस गणनालाई देशको समग्र औद्योगिक एवं आर्थिक नीतिका लागि कोशेढुङ्गा सावित हुने बताए । उनले सम्पूर्ण उद्योगी, व्यवसायी र सरोकारवालाहरूलाई आफ्ना व्यावसायिक विवरणहरू पारदर्शी रूपमा उपलब्ध गराई यस राष्ट्रिय अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन् । “देशको आर्थिक योजना तर्जुमाका लागि सही तथ्याङ्क अनिवार्य छ, त्यसैले यस कार्यमा योगदान पुर्याउनु सबैको कर्तव्य हो,” अर्थमन्त्री वाग्लेले भने ।
यसअघि वि.सं. २०७५ सालमा पहिलो पटक राष्ट्रिय आर्थिक गणना गरिएको थियो । सो गणनाअनुसार देशभर ९ लाख २३ हजार ३५६ व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा रहेका थिए । सात वर्षपछि हुन लागेको यो दोस्रो गणनाले नेपालको बदलिँदो आर्थिक स्वरूप र रोजगारीको नयाँ क्षेत्रबारे महत्वपूर्ण सूचना प्रदान गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलित विवरणको गोपनीयता कायम रहने प्रतिबद्धता जनाउँदै निर्धक्क भएर जानकारी उपलब्ध गराउन सबैमा अनुरोध गरेको छ ।

















