Logo

२९ चैत, काठमाडौं । बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पति विवरण सार्वजनिक गरिएको छ ।

यस विवरण अनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को बैंक खातामा १ करोड ४४ लाख रुपैयाँ नगद मौज्दात रहेको छ भने उनको आम्दानीको एउटा मुख्य र आधुनिक स्रोतका रूपमा फेसबुक, युट्युब र टिकटक जस्ता सामाजिक सञ्जाललाई आधिकारिक रूपमा दर्ता गरिएको छ ।

अचल सम्पत्तिको हकमा प्रधानमन्त्रीको नाममा धनुषामा घर र महोत्तरीमा ९ बिघा पैतृक जग्गा रहेको छ भने श्रीमती सबिना काफ्लेको नाममा १९० तोला पैतृक सुन रहेको विवरणमा उल्लेख छ ।

मन्त्रिमण्डलका सदस्यहरूमध्ये अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सबैभन्दा धनी मन्त्रीका रूपमा देखिएका छन् । उनको विवरण अनुसार ललितपुर र काभ्रेमा करोडौँ मूल्यका अपार्टमेन्टहरू, काठमाडौँको चन्द्रागिरीमा ३ रोपनी जग्गा र विभिन्न स्थानमा अन्य घरजग्गाहरू रहेका छन् । वाग्लेको बैंक मौज्दात १ करोड ९० लाख रुपैयाँ रहेको छ भने विभिन्न हाइड्रोपावर र बैंकहरूको सेयरमा उनको करिब ४ करोड ५० लाख रुपैयाँभन्दा बढीको लगानी रहेको छ, जुन उनले अन्तर्राष्ट्रिय रोजगारी र निजी लगानीबाट आर्जन गरेको जनाएका छन् ।

यता गृह मन्त्री सुधन गुरुङको सम्पत्ति विवरणले पनि निकै चर्चा पाएको छ। उनको विवरणमा परिवारको नाममा ८९ तोला सुन रहेको उल्लेख छ भने चितवन र झापामा गरी करिब ७ बिघा खेतीयोग्य जमिन र विभिन्न सहकारी संस्थाहरूमा १५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर रहेको देखिएको छ।

परराष्ट्र मन्त्री शिशिर खनालको हकमा भने २२ तोला सुन, २५ तोला चाँदी र १० लाख रुपैयाँ नगद बैंक मौज्दात रहेको छ । खनालको ३० भन्दा बढी विभिन्न कम्पनीहरूमा सेयर लगानी र ५५ लाख रुपैयाँ व्यक्तिगत ऋण लगानी रहेको विवरणले उनी पनि आर्थिक रूपमा निकै सक्रिय रहेको पुष्टि गर्छ ।

यसरी डेटासहित सार्वजनिक भएको यो विवरणले बालेन सरकारले भ्रष्टाचार विरुद्ध र सुशासनका लागि आफ्नै मन्त्रिमण्डलबाट पारदर्शिताको कडा सुरुवात गरेको सन्देश दिएको छ।


सम्बन्धित समाचार