३० चैत, काठमाडौं । नेपाली बजारमा केही दिनदेखि निरन्तर बढिरहेको सुन र चाँदीको मूल्यमा सोमबार भने सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
सुनको ताजा बजार मूल्य
महासंघले सोमबारका लागि छापावाल सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । आइतबार यसको कारोबार प्रतितोला २ लाख ९७ हजार १ सय रुपैयाँमा भएको थियो। सोमबार मूल्यमा केही कमि आए तापनि समग्र साताको तथ्याङ्क हेर्दा सुन अझै महँगो नै देखिन्छ । गत सोमबार २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन एक साताको अवधिमा कुल ५ हजार ३ सय रुपैयाँले बढिसकेको छ ।
चाँदी पनि प्रतितोला ७५ रुपैयाँले सस्तो
सुनसँगै सोमबार चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा खरिद–बिक्री भएको थियो। एक साताअघि चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा दैनिक परिवर्तन भइरहेको व्यवसायीहरूले बताएका छन् । मूल्यमा सामान्य गिरावट आएपछि सुन खरिद गर्ने योजनामा रहेका उपभोक्ताहरूलाई केही राहत मिलेको छ ।


















