Logo

३० चैत,वीरगञ्ज ।मौरी चरिचरणको मुख्य सिजनमा मौसम पूर्ण रूपमा अनुकूल नभए पनि यस वर्ष महोत्तरीमा मह उत्पादन उल्लेख्य रूपमा बढेको छ। वसन्त ऋतुमा पर्याप्त फूल फुल्नु र वन डढेलोका घटनामा कमी आउनुले उत्पादन बढाउन सहयोग पुगेको मौरीपालक कृषकहरूले बताएका छन्।

नवजागरण मौरीपालक कृषक समूह, खैरिनीटार, चितवनका अनुसार यस वर्ष फागुन र चैत महिनामा महोत्तरीका जङ्गली क्षेत्रबाट २६ हजार ८ सय किलो (२६८ क्विन्टल) मह उत्पादन भएको छ। उत्पादित महको होलसेल मूल्य करिब एक करोड ६० लाख रुपैयाँ बराबर रहेको जनाइएको छ।

अगुवा मौरी कृषक सुरेश बस्नेत का अनुसार यो उत्पादन पछिल्ला दुई वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। उनका अनुसार २०८० सालमा १२० क्विन्टल र २०८१ सालमा ६५ क्विन्टल मात्र मह उत्पादन भएको थियो, जसको मुख्य कारण वन डढेलो, हावाहुरी र प्रतिकूल मौसम रहेको थियो।

यद्यपि यस वर्ष पनि मौसम पूर्ण रूपमा अनुकूल भने थिएन। चैत महिनाभरि आएको असिना, वर्षा र हावाहुरीले मह सङ्कलनमा असर पारेको बस्नेतले बताए। सामान्य अवस्थामा ११–१२ दिनको अन्तरालमा मह निकाल्न सकिने भए पनि यस सिजनमा दुई पटक मात्र मह संकलन गर्न सकिएको उनले जानकारी दिए।

“एक दिन पानी परेपछि दुई दिनसम्म माहुरीले रस सङ्कलन गर्न सक्दैन,” बस्नेतले भने, “हुरीबतासले फूलको रस सुकाउने र पानीले पखाल्ने भएकाले उत्पादनमा असर पर्छ।”

उनका अनुसार यस वर्ष युक्लिप्टस (भिक्स) का रुखमा अत्यधिक फूल फुलेका कारण उत्पादनमा सुधार आएको हो। सात वर्षयताकै सबैभन्दा बढी फूल फुलेको भन्दै उनले यसलाई उत्पादन वृद्धिको मुख्य कारण बताएका छन्। युक्लिप्टसको मह नजम्ने र औषधीय गुण बढी हुने भएकाले यसको बजार माग र मूल्य पनि उच्च रहने गरेको छ।

यसै कारण चितवनका मौरीपालकहरू वसन्त ऋतु सुरु भएसँगै महोत्तरीका जङ्गल क्षेत्रमा घारसहित पुग्ने गरेका छन्। यस वर्ष फागुन ११ गते मेलिफेरा जातका दुई हजार ६८० मौरी घारसहित ३० जना कृषक महोत्तरी पुगेका छन्।

हाल बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका विभिन्न बारी, बगैचा तथा सागरनाथ वन विकास परियोजनाको युक्लिप्टस जङ्गलमा मौरीका घार राखिएका छन्। बर्दिबासको बुद्धचोक, हात्तीलेट तथा गौशाला नगरपालिकाको रामनगर, तारेचौरी र लक्ष्मिनिया क्षेत्र मह सङ्कलनका प्रमुख केन्द्र बनेका छन्।

मौसमले साथ दिएको भए यस वर्ष ३०० क्विन्टलभन्दा बढी मह उत्पादन हुने अनुमान गरिएको थियो। तथापि, विगतको तुलनामा उत्पादनमा आएको सुधारले कृषकहरूमा उत्साह थपिएको छ।


सम्बन्धित समाचार