३० चैत,सर्लाही । चुरे क्षेत्रअन्तर्गत बागमती नगरपालिका–१, दापडाँडा का स्थानीयहरू खोल्सा र कुवाको दूषित पानी पिउन बाध्य भएका छन्। खानेपानीको स्थायी व्यवस्था नहुँदा घट्टे टोल, स्याङ्तान टोल र गुन्जमान टोलका करिब १२० घरधुरीले वर्षौंदेखि पानी अभाव झेलिरहेका छन्।
स्थानीय विष्णुमाया मोक्तानका अनुसार एक गाग्रो पानी ल्याउन दुई घण्टासम्म उकालो–ओरालो गर्नुपर्ने बाध्यता छ। “खोल्सामा रसाएको पानी पर्खेर ल्याउँछौं, तर खडेरीमा खोल्सा सुक्दा झन् समस्या हुन्छ,” उनले भनिन्, “हाम्रो बस्तीको सबैभन्दा ठूलो समस्या भनेकै खानेपानी हो।”
नगरपालिकाले समय–समयमा ट्याङ्करमार्फत पानी पठाउने गरे पनि चुरे क्षेत्रको कच्ची सडक बिग्रिँदा अहिले ट्याङ्करसमेत पुग्न सकेको छैन। यसले पिउने पानी मात्र होइन, सरसफाइ र पशुपालनमा समेत समस्या सिर्जना गरेको स्थानीयले बताएका छन्।
गाउँलेहरूले खोल्साबाट पानी बोकेर डाँडामा राखिएका ठूला प्लास्टिक ड्रममा जम्मा गर्ने गरेका छन्। वर्षायाममा सडक झन् बिग्रिने भएकाले खानेपानी ढुवानी थप जटिल हुने गरेको छ।
वडाध्यक्ष गम्भीरसिंह पाख्रिन का अनुसार बाटो राम्रो हुँदा दुई–तीन दिनको अन्तरालमा ट्याङ्कर पठाइने गरिन्थ्यो। यसअघि हरिहरपुरगढी गाउँपालिका क्षेत्रबाट सोलार प्रणालीमार्फत लिफ्टिङ गरेर पानी ल्याइएको भए पनि प्रणाली बिग्रिएपछि समस्या पुनः बढेको हो।
स्थानीय तहले अब विद्युतीय लिफ्टिङ प्रणालीमार्फत खानेपानी पुर्याउने योजना बनाएको छ। यसका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको वडाध्यक्ष पाख्रिनले जानकारी दिए। “प्रदेश सरकार र संघीय सरकारको सहयोग भए दापडाँडामा स्थायी रूपमा खानेपानी पुर्याउन सकिन्छ,” उनले भने।
स्थानीयका अनुसार गाउँमा अहिले बिजुली पुगेकाले उचित लगानी र समन्वय भएमा दीर्घकालीन समाधान सम्भव रहेको छ। तर हालका लागि भने दापडाँडावासीहरू दूषित पानीमै निर्भर हुन बाध्य छन्।


















