Logo

३० चैत,रौतहट ।  गौर भन्सार कार्यालय ले चालु आर्थिक वर्ष २०८२/०८३ मा राजस्व संकलनतर्फ उल्लेखनीय प्रगति हासिल गरेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष लक्ष्यअनुसार उच्च उपलब्धि प्राप्त भएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख विकासकुमार रजक का अनुसार चालु आर्थिक वर्षको लक्ष्य ३३ करोड २९ लाख ९२ हजार रुपैयाँ रहेकोमा चैत २८ गतेसम्म ३० करोड १८ लाखभन्दा बढी अर्थात् ९०.६३ प्रतिशत राजस्व संकलन भइसकेको छ।

गत आर्थिक वर्ष २०८१/०८२ मा ३५ करोड ४३ लाख ७८ हजार रुपैयाँ लक्ष्य रहेकोमा २९ करोड ९१ लाख ३० हजार रुपैयाँ मात्र संकलन भएको थियो। त्यसको तुलनामा यस वर्षको प्रगति उल्लेखनीय रहेको देखिन्छ।

मासिक रूपमा पनि राजस्व संकलनमा उल्लेख्य सुधार देखिएको छ। मङ्सिरमा १७०.१७ प्रतिशत, पुसमा २१३.०५ प्रतिशत, माघमा १२८.६१ प्रतिशत, फागुनमा १०७.९० प्रतिशत र चैत २८ गतेसम्म १५१.८२ प्रतिशत संकलन भएको तथ्यांकले देखाएको छ। समग्रमा चैतसम्म लक्ष्यको १२३.४३ प्रतिशत प्रगति हासिल भएको कार्यालयले जनाएको छ।

राजस्व वृद्धि हुनुका मुख्य कारण कोइला, गुड (सख्खर) र टायल्सजस्ता वस्तुको आयातमा वृद्धि हुनु तथा मुद्दा फछ्र्यौट गरी मालसामान र सवारीसाधनको समयमै लिलाम बिक्री हुनु रहेको रजकले बताए।

चालु वर्षमा मुद्दा संख्या घट्नुका साथै भएका मुद्दाहरू समयमै टुंग्याएर लिलाम गरिएको छ। विभिन्न किराना, खाद्यान्न तथा लत्ताकपडासहितका सामग्रीको लिलामबाट मात्रै ४२ लाख ५२ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।

निकासी तर्फ पनि सुधार देखिएको छ। विशेषगरी भेनियर र पीभीसी पाइप निर्यातबाट गत वर्षको तुलनामा बढी आम्दानी भएको कार्यालयले जनाएको छ।

यद्यपि, प्लान्ट क्वारेन्टाइन सुविधा अभावका कारण खाद्यान्न जाँचपासमा समस्या रहेको छ। साथै, रौतहट क्षेत्रमा बाढीका कारण उत्पादन घट्ने भएकाले खाद्यान्न आयातमा निर्भरता कायमै छ।

स्थानीय सरोकारवालाहरूका अनुसार चैत महिनाभित्रै लक्ष्य नजिक पुग्नु र अधिकांश महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन हुनु गौर भन्सार कार्यालयको कार्यक्षमतामा सुधार आएको संकेत हो।


सम्बन्धित समाचार