३० चैत,वीरगञ्ज । बारा–पर्सा औद्योगिक करिडोरमा रहेको जगदम्बा स्टिल प्रा.लि. ले पर्सा राष्ट्रिय निकुञ्ज को करिब २५ बिघा सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोपमा सुरु गरिएको अनुसन्धान दुई वर्ष बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २०८० फागुन १ गतेदेखि सुरु गरेको अनुसन्धानअन्तर्गत निकुञ्जको जग्गा मिचिएको विषयमा छानबिन भए पनि फाइल अझै विभिन्न निकायबीच ‘घुमिरहेको’ पाइएको छ। यसबीच राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग र निकुञ्ज कार्यालयबीच पटक–पटक पत्राचार भए पनि ठोस निर्णय भएको छैन।
उजुरीमा उद्योगले निकुञ्जको जग्गा अतिक्रमण गरी लालपुर्जा बनाएको, संरचना निर्माण गरेको र व्यावसायिक गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ। साथै नजिकैका हुलास आल्मुनियम र हुलास स्टिल ले समेत सार्वजनिक जग्गा अतिक्रमण गरेको दाबी गरिएको छ।
निकुञ्ज मध्यवर्ती परिषद्का अध्यक्ष सिताराम अर्याल का अनुसार पटक–पटक पत्राचार भए पनि कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन। उनका अनुसार अतिक्रमण पुष्टि भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको छ।
प्राविधिक अध्ययनमा जीतपुरसिमरा उपमहानगरपालिका र नापी कार्यालयले उद्योगले भाङ्ग्रे खोलालाई ढलान गरी ढल निकासका रूपमा प्रयोग गरेको र केही सार्वजनिक जग्गा निजी प्रयोजनमा उपयोग गरेको निष्कर्ष निकालेका छन्। नापी कार्यालय का प्रमुख राधेश्याम साहले प्रतिवेदन बुझाइसक्दा पनि कारबाही अघि नबढ्नु दुःखद भएको बताएका छन्।
यता रामचन्द्र खतिवडा ले भने अनुसन्धान टुंगिएपछि मात्र आधिकारिक विवरण सार्वजनिक गरिने बताएका छन्।
तीन दशकदेखि विस्तार हुँदै आएको उद्योगले कति जग्गा कानुनी रूपमा खरिद गरेको र कति सार्वजनिक जग्गा प्रयोग गरेको हो भन्ने विषय अझै स्पष्ट नभएको सरोकारवालाहरूको भनाइ छ। उनीहरूले प्रतिवेदन सार्वजनिक गरी तत्काल कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेका छन्।

















