३० चैत,काठमाडौं । बहुचर्चित पोखराको लिचीबारी जग्गा प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता सहित सात जनाविरुद्ध विशेष अदालतमा सुनुवाइ सुरु भएको छ।
विशेष अदालत का अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू नारायणप्रसाद कोइराला र उमेश कोइरालाको इजलासमा मुद्दाको प्रारम्भिक सुनुवाइ भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले २०८२ असोज २२ गते गुप्तासहितका व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। आयोगका अनुसार कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्ने तथा भूमि आयोगमा सदस्य बनाइदिने प्रलोभन देखाएर घरजग्गा व्यवसायीसँग घुस लिएको आरोप छ।
अनुसन्धानमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठ सँग मिलेमतोमा पदको दुरुपयोग गरी रकम लिएको अभियोगसमेत लगाइएको छ। आयोगले कुल ७८ लाख रुपैयाँ बराबरको घुस कारोबार भएको दाबी गरेको छ।
मुद्दामा अडियो संवाद, बैंक कारोबार विवरण तथा डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनलाई मुख्य प्रमाणका रूपमा प्रस्तुत गरिएको छ। फरेन्सिक परीक्षणले अडियो–भिडियो सामग्रीमा कुनै छेडछाड नभएको पुष्टि गरेको आयोगको दाबी छ।
यस प्रकरणमा मालपोत कार्यालयका तत्कालीन प्रमुख, घरजग्गा व्यवसायी तथा बिचौलियासहित अन्य प्रतिवादीहरूलाई पनि मुद्दामा समेटिएको छ।
विशेष अदालतमा सुरु भएको सुनुवाइसँगै अब मुद्दाको थप प्रक्रिया र सम्भावित फैसलातर्फ चासो बढेको छ।


















