Logo

३० चैत,वीरगञ्ज । सरकारी विज्ञापन बन्द गर्ने निर्णयप्रति बाराका पत्रकारहरूले गम्भीर असन्तुष्टि जनाउँदै मिडिया क्षेत्र संकटमा पर्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार यस निर्णयले निजी सञ्चारमाध्यमहरूको आर्थिक आधार कमजोर बनाउँदै अस्तित्वमै खतरा उत्पन्न गरिरहेको छ।

नेपाल प्रेस युनियन बारा शाखा को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सरकारी विज्ञापन नै धेरैजसो मिडियाको मुख्य आम्दानी स्रोत भएकाले रोकिँदा विशेषगरी स्थानीय सञ्चारमाध्यमहरू प्रत्यक्ष रूपमा प्रभावित भएको बताए।

कार्यक्रममा पत्रकार सत्य प्रकाश श्रेष्ठ ले मिडियाको संरक्षण र प्रवर्द्धनका लागि राज्यले वर्गीकरणका आधारमा नियमित विज्ञापन वितरण गर्नुपर्ने आवश्यकता औंल्याए। त्यस्तै पत्रकार गणेशराज रिजाल ले वर्तमान अवस्था कायमै रहे केही महिनामै धेरै निजी सञ्चारमाध्यम बन्द हुन सक्ने चेतावनी दिए।

पत्रकार निवेश कुमार तिमिल्सिना ले सरकारी विज्ञापन रोक्ने निर्णयलाई प्रेसमाथिको अप्रत्यक्ष नियन्त्रणको प्रयासको रूपमा टिप्पणी गरे। त्यस्तै पत्रकार जयनारायण यादव ले यसले सञ्चार संस्थामा कार्यरत पत्रकारहरूको रोजगारीमा गम्भीर असर पार्ने बताए।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले एफएम रेडियो सञ्चालनमा समेत असर परेको उल्लेख गर्दै ग्रामीण क्षेत्रमा सूचना पहुँच कमजोर हुने जोखिम बढेको बताएका छन्।

श्यामबाबु प्रसाद यादव को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश का सदस्य संजीव मिश्र लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन राजेश कुशवाहा ले गरेका थिए।


सम्बन्धित समाचार