३० चैत, काठमाडौं । विराटनगरको इटहरीमा प्रधान कार्यालय रहेको समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका साना निक्षेपकर्ताका लागि खुसीको खबर आएको छ ।
कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पहिलो चरणमा २० हजार रुपैयाँभन्दा कम बचत भएका २८७ जना सदस्यको कुल २८ लाख ५७ हजार रुपैयाँ फिर्ता गरेको हो । समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार साना बचतकर्तालाई प्राथमिकतामा राखेर उनीहरूको बचत सिधै बैंक खातामा पठाइएको छ, जुन प्रदेश सरकारको पहलमा नेपालमै पहिलो पटक सहकारीको बचत फिर्ता गर्ने उदाहरणीय कार्य भएको दाबी गरिएको छ ।
२०८१ पुस २३ गते प्रदेश सरकारले अम्बे कोशीलाई समस्याग्रस्त घोषणा गरेपछि समितले संस्थाको सम्पत्ति व्यवस्थापन र ऋण असुलीलाई तीव्रता दिएको थियो । हालसम्म समितिले ऋणीहरूबाट १ करोड ८७ लाख रुपैयाँ असुली गरिसकेको छ भने अझै ४२ करोड ६० लाख रुपैयाँभन्दा बढी ऋण उठाउन बाँकी छ ।
समिति सदस्य जीवन काफ्लेका अनुसार २० हजारसम्मको दायित्व राफसाफ भएलगत्तै अब १ लाख रुपैयाँसम्म बचत गर्ने सदस्यहरूको रकम फिर्ता गर्ने तयारी भइरहेको छ । ऋण असुलीबाट प्राप्त रकमले निक्षेपकर्ताको माग धान्न नसकेको खण्डमा सहकारी र सञ्चालकहरूको नाममा रहेको सम्पत्ति लिलाम गरेरै भए पनि सर्वसाधारणको बचत फिर्ता गराइने समितिले जनाएको छ ।
यस कदमलाई लिएर कोशी सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले प्रदेश सरकार निक्षेपकर्ताको हितप्रति गम्भीर रहेको उल्लेख गर्नुभएको छ । उहाँले चरणबद्ध रूपमा बचत फिर्ता गर्ने प्रक्रियाले सहकारी क्षेत्रमा गुमेको विश्वास फर्काउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
हालसम्म २४ करोड ८८ लाख रुपैयाँ बचत फिर्ताका लागि समितिमा निवेदन परेको सन्दर्भमा, प्राथमिकताका आधारमा सानाबाट सुरु गरी क्रमशः ठूला निक्षेपकर्ताको समस्या समाधान गर्दै लैजाने सरकारको योजना रहेको छ ।

















