३० चैत,काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आगामी वैशाख २ गते (बुधबार) बस्ने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा वैशाख ४ गते तय गरिएको संसदीय दलको नेता चयन प्रक्रियाबारे मुख्य रूपमा छलफल हुने बताइएको छ।
बैठकमा संसदीय दलको नेताका आकांक्षीहरूबीच सहमति जुटाउने प्रयास गरिने जनाइएको छ। हाल अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य र जनकराज गिरीलगायतका नेताहरूको नाम चर्चामा रहेको छ।
यसैबीच, केही नेताहरूले नयाँ पुस्ताबाट नेतृत्व चयन हुनुपर्ने माग गर्दै निस्कल राईको नामसमेत अघि सारेका छन्। पार्टी शीर्ष नेतृत्वले भने सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने लक्ष्यसहित आन्तरिक छलफल अघि बढाइरहेको जनाएको छ।
बैठकमा क्रियाशील सदस्यता अद्यावधिक तथा ‘जरामा जाऔँ अभियान’बारे पनि छलफल हुने बताइएको छ। नयाँ वर्षको पहिलो दिनदेखि देशभर सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने तयारी गरिएको छ भने अभियानअन्तर्गत नेताहरूलाई विभिन्न क्षेत्रमा परिचालन गर्ने कार्यक्रम रहेको छ।