३० चैत,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिका–स्थित उद्योग वाणिज्य संघको सभा कक्षमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यकर्ता भेला सम्पन्न भएको छ।
कार्यक्रम स्थानिय नेता गगनदेव प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भएको हो। भेलामा सिम्रौनगढ नगरपालिकाभित्र आवश्यक विकास परियोजनाहरू पहिचान गर्दै बारा क्षेत्र नम्बर १ का सांसद गणेश धिमाललाई लिखित रूपमा मागपत्र बुझाउने विषयमा व्यापक छलफल गरिएको जनाइएको छ।
भेलाले सिम्रौनगढ इशरा पोखरीको सौन्दर्यकरण, गोरु बजारदेखि आदर्श कोतवाल च्युटाहासम्म कालोपत्रे सडक निर्माण, कोल्ड स्टोर स्थापना, मिनी चिडियाखाना निर्माण, धर्मशाला निर्माण तथा कम्काली मन्दिर परिसरस्थित त्रिलोकीनाथ मन्दिरको पुनर्निर्माणलगायतका माग अघि सारेको छ। साथै ५२ बिघा क्षेत्रफल रहेको झरोखर पोखरीको सौन्दर्यकरणसहित २४ बुँदे विकास योजना तयार गरिएको छ।
कार्यक्रममा राबाबु कुशवाहा, इन्जिनियर अनिल कुशवाहा, ध्रुव प्रसाद कुशवाहा, ध्रुव प्रसाद यादव, अखलेश यादवलगायतले आफ्ना विचार राखेका थिए।
भेलाको सञ्चालन रामप्रवेश कुशवाहाले गरेका थिए। कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका वडा नं. १ देखि ११ सम्मका अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

















