Logo

३० चैत, काठमाडौं । संघीय संसद्अन्तर्गतका महत्त्वपूर्ण दुई संयुक्त समितिहरूमा ६ जना सांसदहरूलाई मनोनीत गरिएको छ ।

संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रिक्त रहेका सदस्य पदहरूमा ती सांसदहरूलाई चयन गरिएको हो । संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चाल) नियमावली २०८० को नियम २५ र २८ को उपनियम ९२० बमोजिम गत चैत २७ गतेको संसद् बैठकले यो मनोनयनको निर्णय गरेको हो ।

शक्तिशाली मानिने संसदीय सुनुवाइ समितिमा आनन्द प्रसाद ढुंगाना, नर बहादुर विष्ट र प्रेम प्रसाद दंगाल सदस्यका रूपमा मनोनीत भएका छन्। यो समितिले संवैधानिक निकायका पदाधिकारी र राजदूतहरूको नियुक्तिपूर्व सुनुवाइ गर्ने महत्त्वपूर्ण जिम्मेवारी वहन गर्दछ ।

त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा किरण बाबु श्रेष्ठ, मदन कुमारी शाह (गरिम) र अन्जान शाक्यलाई मनोनीत गरिएको छ । यस समितिले राज्यले अङ्गीकार गरेका नीति र निर्देशक सिद्धान्तहरूको कार्यान्वयनको अवस्थाबारे सरकारलाई जवाफदेही बनाउने र अनुगमन गर्ने कार्य गर्दछ ।


सम्बन्धित समाचार