१ बैशाख, जनकपुर । विक्रम संवत् २०८३ को प्रारम्भसँगै मधेशको मिथिला क्षेत्रमा प्रकृति र संस्कृतिको संगम मानिने ’जुडशीतल’ पर्व हर्षोल्लासपूर्वक सुरु भएको छ । नयाँ वर्षको पहिलो दुई दिन मनाइने यस पर्वको पहिलो दिन आज मिथिलाबासीले ‘सतुवाइन’ विधिसँगै कूलदेवताको पूजाअर्चना गरी पर्वको ओपचारिक सुरुवात गरेका छन् ।
बढ्दो गर्मीमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यस पर्वको आफ्नै विशिष्ट धार्मिक र वैज्ञानिक महत्त्व रहेको छ । महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका प्राचार्य हेमनारायण कर्णका अनुसार, आजको दिन चना, जौ, मकै, गहुँ र मुँगसहित सात थरि खाद्यान्नको सातु र सखरको सर्वत कूलदेवतालाई अर्पण गर्ने परम्परा छ । “कूलदेवतालाई चढाइसकेपछि उक्त सातु र सर्वत ब्राह्मण तथा साधु सन्तलाई दान गर्ने र परिवारका सदस्यले ग्रहण गर्ने विधिलाई नै मिथिलामा ’सतुवाइन’ भनिन्छ,“ प्राचार्य कर्णले जानकारी दिए ।
सौरमास गणनाका आधारमा मनाइने यस पर्वको दोस्रो दिन अर्थात् भोलि मुख्य ’जुडशीतल’ मनाइनेछ। भोलिको दिन घरका ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिञ्चित गर्दै दीर्घायु र आरोग्यताको आशिर्वाद दिने प्रचलन छ। मिथिला संस्कृतिका ज्ञाता ध्रुव रायका अनुसार यो पर्वले जीवनमा शीतलता प्रदान गर्ने र नयाँ वर्षलाई सुखद बनाउने सन्देश दिन्छ ।
जुडशीतल केवल खानपिनमा मात्र सीमित छैन । यस पर्वमा मिथिलाबासीले एकापसमा धुलो र हिलो छ्यापाछ्याप गर्ने मौलिक परम्परा समेत जोगाएका छन्। संस्कृतिविद् रायका अनुसार नयाँ वर्षको सुरुवातमा माटोसँग खेल्ने यो प्रचलनले मानव जीवन र कृषिको गहिरो सम्बन्धलाई उजागर गर्दछ। “हिलो र धुलो खेल्नु भनेको कृषिकर्ममा निरन्तर जुटिरहन प्रेरित गर्ने एउटा सांकेतिक माध्यम हो,“ उनले भने ।
स्थानीय ज्येष्ठ नागरिकहरूका अनुसार यो पर्वमा मानिसलाई मात्र नभई प्रकृतिलाई समेत ’जुडाउनु’ (शीतल बनाउनु) पर्ने मान्यता छ। जसअन्तर्गत आज र भोलि आफ्ना घर वरपरका रुखबिरुवामा पानी सिञ्चित गर्ने र चिस्यान कायम राख्ने प्रयास गरिन्छ ।
मधेशका महोत्तरी, धनुषा, सिरहा, सप्तरीसहित सीमावर्ती भारतीय जिल्लाहरूमा समेत यो पर्व उत्तिकै उत्साहका साथ मनाइन्छ। आपसी सद्भाव र सहकार्यको प्रतिक मानिने जुडशीतलले ’कृषि नै जीवनको मूल आधार हो’ भन्ने परापूर्वकालदेखिको सन्देशलाई पुस्तान्तरण गरिरहेको छ।

















