१ बैशाख, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच इरानले एक अप्रत्याशित कूटनीतिक कदम चाल्दै आफ्ना पाँच छिमेकी राष्ट्रहरू—साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) कतार, बहराइन र कुवेतसँग युद्धकालीन क्षतिको पूर्ण भरपाई माग गरेको छ ।
इरानले यी देशहरूमाथि अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन गरेको र इरानको राष्ट्रिय सुरक्षा एवं स्थिरतामा धक्का पुर्याएको आरोप लगाउँदै संयुक्त राष्ट्रसङ्घमार्फत औपचारिक दाबी पेस गरेको हो ।
संयुक्त राष्ट्रसङ्घका लागि इरानी राजदूत अमिर सइद इरावानीले महासचिव एन्टोनियो गुटेरेसलाई एक विशेष पत्र लेख्दै यी देशहरूको भूमिकाका कारण इरानले भोग्नुपरेको भौतिक मात्र नभई मानसिक क्षतिको समेत हिसाब मागेका छन् ।
इरानी समाचार एजेन्सी आईआरएनए का अनुसार, पत्रमा ती राष्ट्रहरूले आफ्नो अन्तर्राष्ट्रिय उत्तरदायित्व पूरा नगरेको र अब त्यसको कानुनी एवं आर्थिक मूल्य चुकाउनुपर्ने जिकिर गरिएको छ। इरानको यो मागले क्षेत्रीय राजनीतिमा नयाँ तरङ्ग पैदा गरिदिएको छ ।
यसैबीच, इरान र अमेरिकाबीचको चिसिएको सम्बन्धमा केही सुधार आउन सक्ने सङ्केतहरू पनि देखिएका छन्। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले इरान र अमेरिकाबीच छिट्टै अर्को चरणको उच्चस्तरीय वार्ता हुन सक्ने दाबी गरेका छन् ।
सोमबार इस्लामावादमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले वर्तमान कूटनीतिक प्रयासहरू सकारात्मक दिशामा अघि बढिरहेको र युद्धविरामको वातावरणले वार्ताका लागि उपयुक्त आधार तयार पारेको बताएका छन् ।
इरानले यसअघि पनि संयुक्त राज्य अमेरिकासँग यस्तै प्रकारको क्षतिपूर्तिको माग राख्दै आएको थियो । तर, यसपटक आफ्नै छिमेकी खाडी मुलुकहरूलाई समेत लक्षित गरेपछि यसलाई इरानको आक्रामक कूटनीतिक रणनीतिका रूपमा हेरिएको छ ।
एकातिर वार्ताको ढोका खुल्ने अपेक्षा र अर्कोतिर क्षतिपूर्तिको कडा मागले मध्यपूर्वको शक्ति सन्तुलन कुन दिशामा जान्छ भन्ने चासो विश्वभर बढेको छ ।


















