१ वैशाख,काठमाडौं ।सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा पुनः लागू गर्ने प्रक्रिया अघि बढाइएको छ । संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको सोमबार बसेको बैठकले स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थापन गर्ने विषयमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सभामुख डोल प्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई आवश्यक कानुनी व्यवस्था गर्न पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभा उपाध्यक्ष लिला कुमारी भण्डारीलगायत पदाधिकारीहरूको सहभागिता थियो ।
यसअघि अघिल्लो सरकारले मितव्ययिता र खर्च कटौतीको नीति अन्तर्गत सांसदहरूको स्वकीय सचिव सुविधा खारेज गरेको थियो । सो निर्णयप्रति असन्तुष्टि जनाउँदै सांसदहरूले सुविधा पुनःस्थापनाको माग गर्दै आएका थिए ।

















