Logo

१ बैशाख, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनगुनासो सम्बोधन गर्ने कार्यमा उल्लेख्य सक्रियता देखाएको छ ।

नवनियुक्त मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेको छोटो अवधिमै मन्त्रालयले जनताका समस्या सुन्ने र समाधान गर्ने प्रक्रियालाई तीव्र बनाएको हो । मन्त्रालयका अनुसार पछिल्लो दुई सातामा मात्रै विभिन्न माध्यमबाट कुल ४ हजार २६९ वटा गुनासो प्राप्त भएका छन्, जसलाई तत्काल सम्बोधन गरिएको छ ।

मन्त्री श्रेष्ठले गत १३ चैतमा जिम्मेवारी सम्हालेलगत्तै जनगुनासोलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका थिए । सोही अनुरूप विद्युत् सेवासम्बन्धी हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी र परिणाममुखी बनाइएको छ । मन्त्रालयको तथ्याङ्कअनुसार प्राप्त भएका गुनासोहरूमध्ये फोनमार्फत ४ हजार २४८, ह्वाट्सएपबाट १४, हेलो सरकारबाट ५ र इमेलमार्फत २ वटा रहेका छन् । यी सबै गुनासोहरूलाई शतप्रतिशत फर्छ्योट गरिएको मन्त्रालयले दाबी गरेको छ ।

दुई साताको कार्यप्रगति सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले सुशासन, पारदर्शिता र जवाफदेहिता आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारेका छन् । उनले नयाँ आयोजनाहरू थपेर राज्यमाथि वित्तीय भार बढाउनुभन्दा रुग्ण र अलपत्र अवस्थामा रहेका पुराना आयोजनाहरूलाई छिटो सम्पन्न गर्ने कार्यदिशा अघि सारेका छन् । जनताको सहभागितामूलक विकास र रूपान्तरणकारी नीति निर्माणमा केन्द्रित रहँदै ऊर्जा क्षेत्रलाई बलियो बनाउने उनको प्रतिबद्धता छ।

 


सम्बन्धित समाचार