१ वैशाख,वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनटोलमा विद्युत् सर्टसर्किटका कारण भीषण आगलागी हुँदा तीन वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
आगलागीमा स्थानीय संजय राम र मन्जय रामका घरसहित सम्पूर्ण संरचना क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न सामग्री तथा पशुपन्छीसमेत जलेर नष्ट भएका छन् ।
अत्यन्तै विपन्न दलित परिवार प्रभावित भएको यस घटनाले स्थानीयस्तरमा गम्भीर मानवीय संकट सिर्जना गरेको स्थानीयवासीले बताएका छन् ।
घटनापछि पूर्व मन्त्री प्रमोद जयसवाल तथा पूर्व मेयर प्रदीप जयसवालसहितको टोली घटनास्थल पुगेको थियो । टोलीले पीडित परिवारलाई राहत वितरण गर्दै सुरक्षित आवास बीमा कार्यक्रमअन्तर्गत क्षतिपूर्ति प्रक्रिया अघि बढाउन आवश्यक कागजात तयार गर्न आग्रह गरेको छ ।
त्यस्तै, व्यक्तिगत रूपमा तत्काल खाद्यान्न सामग्रीसमेत वितरण गरिएको छ । पीडित परिवारको अवस्था अत्यन्त दयनीय रहेको भन्दै स्थानीय तह, संघ–संस्था तथा सम्बन्धित निकायलाई थप सहयोग गर्न आग्रह गरिएको छ ।

















