Logo

१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो सांगठनिक आधारलाई मजबुत बनाउन ‘जरा अभियान’ को औपचारिक शुभारम्भ गरेको छ ।

पार्टीलाई जगैदेखि पुनर्गठित र सुदृढ गर्ने उद्देश्यका साथ मंगलबारदेखि देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरिएको हो । पार्टी सभापति गगन कुमार थापाले काठमाडौं महानगरपालिका–३० मा पुगेर आफ्नो सदस्यता अद्यावधिक गर्दै यस विशेष अभियानको उद्घाटन गर्नुभएको छ ।

कांग्रेसले यसपटक सदस्यता नवीकरणको प्रक्रियालाई थप कडा र व्यवस्थित बनाएको छ । नयाँ व्यवस्थाअनुसार, पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न अब जुनसुकै तहको नेता वा कार्यकर्ताले पनि आफ्नै वडामा भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

यसले केन्द्रमा बसेर सदस्यता नवीकरण गर्ने पुरानो प्रवृत्तिलाई निरुत्साहित गर्दै नेताहरूलाई आफ्नै निर्वाचन क्षेत्र र भूगोलको कार्यकर्तासँग सिधै जोड्ने विश्वास गरिएको छ ।

सभापति थापाका अनुसार यो अभियान आगामी वैशाख मसान्तसम्म सञ्चालन हुनेछ। संगठनलाई थप पारदर्शी, प्रविधिमैत्री र अद्यावधिक बनाउन ‘जरा अभियान’ ले कोसेढुङ्गाको काम गर्ने पार्टीको दाबी छ ।

यस अवधिमा देशभरका लाखौँ क्रियाशील सदस्यहरूलाई समयमै आफ्नो सदस्यता नवीकरण गरी पार्टीको आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न आग्रह गरिएको छ ।


सम्बन्धित समाचार