१ वैशाख,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–७ मा अवस्थित महोबनी पदम माध्यमिक विद्यालयमा भारत सरकारको सहयोगमा नयाँ विद्यालय भवन निर्माण सुरु गरिएको छ ।
विद्यालयमा करिब ७ करोड २५ लाख रुपैयाँ लागतमा तीन तले भवन निर्माण गर्न लागिएको हो । मंगलबार वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीना र पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
नेपाल–भारत विकास सहयोग कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको उक्त भवनका लागि भारत सरकारले ६ करोड ५३ लाख रुपैयाँ र पोखरिया नगरपालिकाले ७२ लाख रुपैयाँ लगानी गरेको छ ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।