२ बैशाख, काठमाडौँ । मुलुकको नीति निर्माण र कार्यान्वयन प्रक्रियालाई थप जनमुखी बनाउने उद्देश्यका साथ प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्का समानुपातिकतर्फका सांसदहरूसँग आज (बुधबार) विशेष अन्तरक्रिया गर्दैछन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा मध्याह्न १२ बजे तय गरिएको यो कार्यक्रमले जनप्रतिनिधि र कार्यपालिकाबीचको दूरी कम गर्ने नयाँ प्रयासका रूपमा चर्चा पाएको छ ।
उक्त अन्तरक्रियामा सहभागी सांसदहरूले आ–आफ्नो क्लस्टर (जातीय, क्षेत्रीय तथा लैङ्गिक समूह) का विशिष्ट समस्या, विद्यमान चुनौती र तिनका व्यावहारिक समाधानका उपायबारे प्रधानमन्त्री समक्ष प्रत्यक्ष रूपमा आफ्ना धारणा राख्नेछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यो छलफल केवल औपचारिक भेटघाटमा सीमित नभई संसद्का विभिन्न क्लस्टरको प्रतिनिधित्व गर्ने आवाजलाई सिधै सिंहदरवारको नीतिगत तहमा पुर्याउने थलो बन्ने अपेक्षा छ ।
यस संवादमार्फत सरकारले सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ । नीति निर्माणका क्रममा प्रत्यक्ष संवादको यो मोडलले कार्यान्वयनको पक्षलाई समेत थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

















