२ बैशाख, काठमाडौँ । नागरिकको कानुनी पहिचान र राज्यको तथ्याङ्कीय आधारलाई मजबुत बनाउन आजदेखि मुलुकका सात सय ५३ वटै स्थानीय तहमा ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको अगुवाइमा सुरु भएको यस अभियानले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँसराइ जस्ता महत्वपूर्ण घटनाहरूलाई समयमै सरकारी अभिलेखमा ल्याउन जनचेतना फैलाउने लक्ष्य राखेको छ ।
स्थानीय तहहरूले आफ्नो कार्यक्षेत्रभित्रका विद्यालय, सामुदायिक संस्था र नागरिक समाजसँगको समन्वयमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्नेछन् । विभागले गत चैत अन्तिम साता नै सबै स्थानीय सरकारलाई परिपत्र गर्दै यस सप्ताहलाई उत्सवका रूपमा मनाउन र घरदैलोसम्म सन्देश पुर्याउन निर्देशन दिइसकेको थियो ।
व्यक्तिको कानुनी अस्तित्व स्थापित गर्न मात्र नभई, राज्यले बनाउने भविष्यका योजना र सामाजिक सुरक्षा भत्ता लगायतका सेवा प्रवाहलाई व्यवस्थित बनाउन यो दर्ता प्रक्रिया अनिवार्य आधार मानिन्छ ।
यस अभियान अन्तर्गत आगामी सात दिनसम्म देशभरका वडा कार्यालयहरूले घटना दर्ताको महत्त्वबारे जानकारीमूलक र्याली, अन्तक्रिया र सूचनामूलक सामग्री वितरण गर्नेछन् । समयमै घटना दर्ता नगर्दा नागरिकले पछि भोग्नुपर्ने कानुनी जटिलतालाई कम गर्न र शतप्रतिशत दर्ताको लक्ष्य भेट्न यो सप्ताह कोसेढुङ्गा सावित हुने विभागको विश्वास छ ।

















