Logo

२ वैशाख,काठमाडौं । सिमरा–काठमाडौं हवाई रुटमा यात्रुको संख्या उल्लेखनीय रूपमा घटेको छ। हवाई इन्धनको मूल्य वृद्धिसँगै भाडा बढेपछि यो रुटमा करिब ६५ प्रतिशतसम्म यात्रु घटेको नागरिक उड्डयन कार्यालय सिमराले जनाएको छ।

पहिले दैनिक ५ देखि ६ सय यात्रुले सेवा लिने यस रुटमा अहिले करिब २ सय यात्रु मात्र आवतजावत गर्ने गरेका छन्। इन्धन महँगिएपछि हवाई भाडा करिब १,१०० रुपैयाँले बढेको छ। हाल सिमरा–काठमाडौंको भाडा ५,५५० रुपैयाँ र काठमाडौं–सिमराको भाडा ५,१५० रुपैयाँ पुगेको छ।

केही सातायता यस रुटमा सञ्चालन हुने विमानहरू पूर्ण क्षमतामा उड्न सकेका छैनन्। करिब १५ मिनेटको उडानमा काठमाडौंबाट सिमरा आउने विमानमा अधिकतम २५ जना यात्रु हुने गरेका छन् भने सिमराबाट फर्कँदा करिब ३० जना मात्र यात्रु हुने गरेका छन्।

बुद्ध एयरका सिमरा कार्यालय प्रमुख सुरेश रेग्मीका अनुसार पछिल्लो दुई सातादेखि उडानको औसत अकुपेन्सी करिब ५० प्रतिशतमा झरेको छ। उनले जेनजी आन्दोलनपछि यात्रु घट्न थालेको र अहिले भाडा वृद्धिले मध्यम वर्गीय यात्रु झन् प्रभावित भएको बताए।

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा पर्ने सिमरा विमानस्थल प्रायः राजनीतिक गतिविधि र व्यापारिक यात्राका लागि प्रयोग हुँदै आएको थियो। तर नयाँ सरकार गठनपछि राजनीतिक आवतजावत घटेको छ, जसले यात्रु संख्यामा थप असर पारेको छ।

सडक मार्गबाट सिमरा–काठमाडौं यात्रा करिब चार घण्टामै गर्न सकिने भएकाले पनि महँगो हवाई भाडाले यात्रुहरूलाई वैकल्पिक यातायात रोज्न प्रेरित गरेको ट्राभल व्यवसायीहरू बताउँछन्। चुरीयामाई ट्राभल्स सिमराका रोहित साहका अनुसार भाडा बढेपछि नियमित हवाई यात्रुहरूले समेत सडक यात्रा रोज्न थालेका छन्।

हाल सिमरा विमानस्थलबाट बुद्ध एयरले एटीआर–७२ जहाजमार्फत दैनिक पाँच उडान सञ्चालन गरिरहेको भए पनि यति एयर, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र नेपाल एयरलाइन्सले सेवा बन्द गरिसकेका छन्।


सम्बन्धित समाचार