Logo

३ वैशाख, काठमाडौँ । नयाँ वर्षको सुरुवातसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरी आम उपभोक्ताको ढाड सेक्ने काम गरेको छ। निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्यमा अस्वाभाविक बढोत्तरी गरेको हो । नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ भने पेट्रोलको मूल्यलाई हालका लागि यथावत् राखिएको छ ।

नयाँ समायोजनसँगै अब तेस्रो वर्गका क्षेत्र (काठमाडौँ, पोखरा र दिपायल) मा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी २५६ रुपैयाँ कायम गरिएको छ । मूल्यमा यति ठूलो वृद्धि गर्दा पनि निगमको वित्तीय संकट भने टर्ने देखिएको छैन । निगमका अनुसार यो समायोजनपछि पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा छ, जसका कारण आगामी १५ दिनमा निगमलाई करिब पौने ६ अर्ब रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरिएको छ ।

मध्यपूर्वमा बढ्दो तनाव र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर उकालो लागेपछि भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ खरिद मूल्यसूची महँगिएर आएकाले मूल्य बढाउनु परेको निगमको दाबी छ । तर, एकैपटक ३० रुपैयाँको वृद्धिले बजारमा ढुवानी खर्च बढ्ने र त्यसको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तुको महँगीमा पर्ने भन्दै उपभोक्ताहरूले चर्को विरोध जनाएका छन् । हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकहरूले पनि हवाई भाडा बढाउने तयारी गरेका छन्, जसले सर्वसाधारणको यात्रा थप खर्चिलो बनाउने निश्चित देखिन्छ ।


सम्बन्धित समाचार