Logo

३ बैशाख, काठमाडौँ । लामो समयको प्रतीक्षापछि संघीय संसद्अन्तर्गतका विषयगत समितिहरूले नयाँ नेतृत्व पाउने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार १० वटा प्रतिनिधिसभा र २ वटा संयुक्त गरी कुल १२ समितिको सभापति चयनका लागि आज (बिहीबार) मनोनयन दर्ताको तालिका तय गरिएको छ । सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता हुने र साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी छ ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिका सदस्यहरूको टुङ्गो लगाएपछि सभामुख डोलप्रसाद अर्यालले वैशाख ४ गतेका लागि निर्वाचनको मिति तोकेका थिए । सोही तालिकाअनुसार भोलि (शुक्रबार) अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा मनोनयनको प्रस्ताव र समर्थनपछि निर्णयार्थ प्रस्तुत गरी सभापतिहरूको औपचारिक घोषणा गरिनेछ । यस निर्वाचनले कानुन, न्याय तथा मानवअधिकार, सार्वजनिक लेखा, राज्य व्यवस्था तथा सुशासन र अर्थ जस्ता महत्त्वपूर्ण समितिहरूलाई पूर्णता दिनेछ ।

संसदीय व्यवस्थामा समितिको सभापतिलाई ‘मिनी संसद्’ को नेताका रूपमा हेरिने हुनाले दलीय भागबण्डामा समेत यसले निकै महत्त्व पाएको छ । विशेष गरी संसदीय सुनुवाइ र सार्वजनिक लेखा समिति जस्ता प्रभावशाली समितिहरूको नेतृत्वका लागि प्रमुख दलहरूबीच तीव्र प्रतिस्पर्धा र छलफल भइरहेको छ ।

आजको मनोनयन दर्तासँगै कुन दलले कुन समितिको नेतृत्व पाउने भन्ने स्पष्ट हुनेछ । लामो समयदेखि ज्येष्ठ सदस्यका भरमा चल्दै आएका समितिहरूले स्थायी नेतृत्व पाएपछि विधेयकहरूमाथिको छलफल र सरकारको कामकारबाहीको अनुगमन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार