३ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसका पूर्व महामन्त्री डा.शशांक कोइरालाले पार्टीको ऐतिहासिक विरासत र लोकतान्त्रिक मूल्यमान्यता जोगाउनका लागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई वृहत एकताको पक्षमा उभिन अपिल गर्नुभएको छ ।
बिहीबार एक विशेष विज्ञप्ति जारी गर्दै नेता कोइरालाले पार्टीभित्र चुलिँदै गएको आन्तरिक विवाद र गुटबन्दीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले मूल घरलाई नै क्षति पुर्याएर वा परिवारका सदस्यहरूबीच वैमनस्यता बढाएर गरिने भनिएको कुनै पनि रूपान्तरणको औचित्य नहुने स्पष्ट पार्नुभएको छ ।
इतिहासकै चुनौतीपूर्ण र कमजोर अवस्थाबाट पार्टी गुज्रिरहेको उल्लेख गर्दै डा.कोइरालाले यस्तो प्रतिकूल समयमा उत्पन्न हुने आन्तरिक कलहले पार्टीलाई मात्र नभई समग्र मुलुकको लोकतन्त्र र राजनीतिक व्यवस्थालाई नै जोखिममा पार्न सक्ने चेतावनी दिनुभएको छ ।
पार्टीभित्र सैद्धान्तिक मतभेद हुनु स्वभाविक भए पनि ती मतभेदहरूले पार्टीको आधारभूत एकतालाई नै तहसनहस पार्न नहुने उहाँको तर्क छ । विशेष गरी पछिल्लो समय ‘रूपान्तरण’ का नाममा भएका कतिपय गतिविधिले कांग्रेसलाई थप रक्षात्मक अवस्थामा पुर्याएको भन्दै उहाँले तल्लो तहदेखि नेतृत्व तहसम्मै सुझबुझपूर्ण एकताको आवश्यकता औंल्याउनुभएको छ ।
पार्टीको आधिकारिकता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको सन्दर्भमा उपसभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणले एकताको वातावरणमा बाधा पुर्याउने कोइरालाको ठम्याइ छ ।
यस्ता गतिविधिले पार्टी जीवनलाई थप सङ्कटतर्फ धकेल्ने दाबी गर्दै उहाँले १५ औं महाधिवेशनको संघारमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने नाममा हुने फेरबदलले आन्तरिक लोकतन्त्र र पारदर्शितालाई प्रभावित पार्ने समेत बताउनुभएको छ ।
अन्ततः कांग्रेस अझै पनि सैद्धान्तिक रूपमा विभाजित भइनसकेको विश्वास व्यक्त गर्दै उहाँले आपसी तिक्तता त्यागेर पार्टीको वृहत हितका लागि एक ठाउँमा आउन सबैमा हार्दिक अपिल गर्नुभएको छ ।

















