३ वैशाख,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकता सेवासँगै राष्ट्रिय परिचयपत्र वितरण पनि एकैसाथ सुरु गरेको छ। आजदेखि लागू गरिएको यो सेवा अन्तर्गत नयाँ नागरिकता लिने सेवाग्राहीले सोही समयमा राष्ट्रिय परिचयपत्र पनि प्राप्त गर्न सक्नेछन्।
सरकारी सेवालाई सरल, छरितो र प्रभावकारी बनाउने उद्देश्यले ‘ह्यान्ड टु ह्यान्ड’ प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। उनका अनुसार वैशाख ३ गतेदेखि नयाँ नागरिकता बनाउने सेवाग्राहीलाई तत्कालै परिचयपत्र उपलब्ध गराउन थालिएको हो। यद्यपि, प्रतिलिपि नागरिकताका हकमा भने यो सुविधा हाल लागू गरिएको छैन।
नागरिकताको प्रमाणपत्र तयार भएपछि सोही समयमा बायोमेट्रिक प्रक्रिया पूरा गरी राष्ट्रिय परिचयपत्रका लागि आवश्यक विवरण प्रणालीमा प्रविष्ट गरिन्छ। यसले सेवाग्राहीलाई पुनः कार्यालय धाउन नपर्ने, लामो लाइन बस्न नपर्ने र अतिरिक्त खर्चबाट जोगिने सुविधा प्रदान गर्ने दाहालले बताए।
कार्यालयका आइटी शाखाका जागृत साहका अनुसार सिसिआइएमएस प्रणालीमार्फत नागरिकताको विवरण स्वतः राष्ट्रिय परिचयपत्र प्रणालीमा जाने भएकाले प्रक्रिया तीव्र र सहज बनेको हो। उनका अनुसार नागरिकता तयार भएको करिब पाँच मिनेटभित्रै राष्ट्रिय परिचयपत्र पनि तयार हुन्छ।
नयाँ व्यवस्थाप्रति सेवाग्राहीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। नागरिकता लिन पुगेकी रञ्जीता कुमारीले एकैपटक दुवै सेवा पाउँदा खुसी व्यक्त गर्दै यस्तो व्यवस्था निरन्तर हुनुपर्ने बताइन्।
हाल जिल्ला प्रशासन कार्यालय पर्साबाट दैनिक करिब ५० देखि ६० जनासम्मलाई नागरिकता वितरण हुँदै आएको छ।

















