३ वैशाख, (माडी) चितवन । माडी प्रज्ञा प्रतिष्ठानले तेश्रो माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३ लाई लिएर बाहिर आएका समाचारहरूबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। प्रतिष्ठानले महोत्सवलाई पूर्ण रूपमा बहिस्कार गरेको नभई यसको सञ्चालन प्रक्रिया र ठेक्का प्रथा प्रति मात्र असहमति जनाएको प्रष्ट पारेको हो।
प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले माडी नगरपालिकाको कार्यपालिका बैठकले नै मेला लगाउने सन्दर्भमा निर्णय गरिसकेको अवस्थामा प्रतिष्ठानले बहिस्कार गर्यो भन्नु सत्य नभएको बताउनुभयो। मेला लगाउने निर्णय कार्यपालिकाको हो, हामीले त केवल यसको स्वरूप र उद्देश्यमा सुधारको अपेक्षा गरेका हौँ, उहाँले भन्नुभयो, बहिस्कार गरेको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
अध्यक्ष सापकोटाका अनुसार महोत्सवलाई एउटा निजी कम्पनीलाई ठेक्कामा दिँदा माडीको मौलिकता र पहिचान ओझेलमा पर्ने खतरा रहन्छ। हाम्रो मुख्य जोड भनेको स्थानीय भाषा, कला, संस्कृति, कृषि र पर्यटनलाई महोत्सवमा उच्च प्राथमिकता दिनुपर्छ भन्ने हो, उहाँले स्पष्ट पार्नुभयो, माडीका आदिवासी थारु समुदायको भेषभूषा, कला र संस्कृतिको प्रवर्द्धन गर्ने थलो यस्ता महोत्सवहरू हुन्। तर, यसलाई व्यापारिक ठेक्कामा दिँदा यी विषयहरू गौण हुने भएकाले हाम्रो असहमति रहेको हो।
प्रज्ञा प्रतिष्ठानले महोत्सवमा केवल बाह्य र आयातित कार्यक्रमहरू मात्र नभई माडीका स्थानीय कलाकार, यहाँको भाषिक विविधता, र विभिन्न समुदायले सञ्चालन गरेका होमस्टेहरूको प्रवर्द्धन हुनुपर्नेमा जोड दिएको छ। साथै, माडीका स्थानीय किसानहरूले उत्पादन गरेका सामग्रीहरूलाई महोत्सवमा उचित स्थान र बजार दिनुपर्ने प्रतिष्ठानको माग छ।
मेला महोत्सवहरू नाफा कमाउने माध्यम मात्र नभई माडीको धार्मिक र पर्यटकीय पहिचानलाई विश्वभर चिनाउने अवसर हुनुपर्ने प्रतिष्ठानको धारणा छ। ूहामीले स्थानीयपनको संरक्षणका लागि रचनात्मक दबाब दिएका हौँ, सापकोटाले भन्नुभयो।
माडीका उद्योगी व्यवसायी र अन्य संघसंस्थाहरूले महोत्सवको पारदर्शितामाथि प्रश्न उठाइरहेका बेला नगरपालिकाकै प्रज्ञा प्रतिष्ठानले ठेक्का प्रथा विरुद्ध आफ्नो धारणा स्पष्ट पारेको हो ।


















