Logo

४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद अब सडक र सदनबाट हुँदै सर्वोच्च अदालतको इजलाससम्म पुगेको छ ।

पार्टीको आधिकारिकता र विशेष महाधिवेशनको वैधानिकतालाई लिएर परेको मुद्दामा आज एउटा रोचक दृश्य देखिँदैछ— जहाँ राजनीतिज्ञ र कानुन व्यवसायीको भूमिकामा उपसभापति विश्वप्रकाश शर्मा आफैँ उत्रिने भएका छन् ।

इजलासमा नेताको आफ्नै तर्क

पार्टीको विशेष महाधिवेशनलाई चुनौती दिँदै पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा आज शुक्रबार ‘विपक्षी’ को तर्फबाट बहस हुँदैछ । यस बहसमा व्यावसायिक अधिवक्ताहरूसँगै उपसभापति विश्वप्रकाश शर्माले पनि आफ्नो पक्ष राख्ने तयारी गरेका छन् । राजनीतिमा शब्दको जादु चलाउन सिपालु मानिने शर्माले कानुनी कठघरामा उभिएर पार्टीको विशेष महाधिवेशन किन आवश्यक र वैधानिक थियो भन्नेबारे न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासलाई प्रष्ट पार्नेछन् ।

विवादको चुरो र विपक्षीको मोर्चा

यो कानुनी लडाइँ खासमा कांग्रेसभित्रको शक्ति संघर्षको उपज हो । सभापति गगन थापा र उपसभापति शर्मा पक्षले अघि बढाएको विशेष महाधिवेशनलाई रोक्न देउवा निकट मानिने खड्काले सर्वोच्च गुहारेका थिए । बिहीबार खड्का पक्ष र सरकारका तर्फबाट बहस सकिएपछि आजको दिन थापा–शर्मा समूहका लागि आफ्नो ‘काउन्टर’ दिने पालो हो । विपक्षीको सूचीमा रहेका सभापति गगन थापा र निर्वाचन आयोगको तर्फबाट पनि आजै धारणा राखिनेछ ।

कसले के भने?

यसअघि बिहीबारको बहसमा शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीहरू गोविन्द बन्दी, शेरबहादुर केसी लगायतले विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाएका थिए ।

उता सरकारी पक्षबाट नायब महान्यायाधिवक्ताले पनि आफ्नो तर्क पेश गरिसकेका छन् । अब सबैको नजर आजको बहसमा छ, जहाँ विश्वप्रकाश शर्माले राजनीतिक तर्कलाई कानुनी आधारसँग कसरी जोडेर प्रस्तुत गर्छन् भन्ने कौतूहल कांग्रेस वृत्तमा छाएको छ ।


सम्बन्धित समाचार