४ बैशाख, काठमाडौं । सुनचाँदीको बजारमा पछिल्लो समय देखिएको तीव्र उतारचढावका बीच आज शुक्रबार मूल्यमा ठूलो गिरावट आएको छ ।
विगत दुई दिनमा मात्रै तोलामा ६ हजार १०० रुपैयाँले बढेर नयाँ उचाइतर्फ उन्मुख भएको सुनको भाउमा आज भने ब्रेक लागेको हो ।
सुनको मूल्यमा ३ हजारको गिरावट
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ । यससँगै प्रतितोला सुनको मूल्य २ लाख ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो बिहीबार सुनको भाउ तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँ पुगेको थियो । लगातारको बढोत्तरीपछि आजको यो गिरावटले सुन खरिद गर्ने योजनामा रहेका उपभोक्तालाई केही राहत दिएको छ ।
चाँदी पनि भयो सस्तो
सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ । चाँदीको भाउ तोलामा १२० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँमा झरेको छ । यसअघि माघ १५ गते चाँदीको भाउ हालसम्मकै उच्च बिन्दु ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो भने माघ १८ गते एकैदिन १ हजार ५६५ रुपैयाँको ऐतिहासिक गिरावट समेत दर्ता भएको थियो ।
नेपाली बजारमा सुनको मूल्यले यस वर्ष निकै उतारचढावपूर्ण यात्रा तय गरेको छ । गत माघ १५ गते एकैदिन २० हजार ५ सय रुपैयाँले बढेर सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली सुन बजारको इतिहासमै अहिलेसम्मकै उच्च रेकर्ड हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा हुने परिवर्तन र डलरको विनिमय दरका कारण स्थानीय बजारमा पनि यसको सिधा असर परिरहेको देखिन्छ ।




















