४ बैशाख, काठमाडौं । सडक दुर्घटनामा अकालमै ज्यान गुमाएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामालाई गृहमन्त्री सुधन गुरुङले भावपूर्ण बिदाइ गरेका छन् ।
शुक्रबार स्वयम्भूस्थित दाहसंस्कार स्थलमा गृहमन्त्री गुरुङले लामाको शव आफ्नै काँधमा बोकेर घाटसम्म पुर्याउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ३३ वर्षीय इन्स्पेक्टर लामा गत चैत २९ गते तारकेश्वरको डाँडागाउँमा दुर्घटनामा परेका थिए। आफ्नो मोटरसाइकलमा गइरहेका बेला विपरीत दिशाबाट आएको ट्रकले उनलाई ठक्कर दिएको थियो । दुर्घटनालगत्तै त्रिवि शिक्षण अस्पताल र पछि बीएन्डबी अस्पतालमा उपचार गरिए पनि उनलाई बचाउन सकिएन । नयाँ वर्षकै दिन वैशाख १ गते उनको उपचारका क्रममा निधन भएको थियो ।
रामेछापको लिखु तामाकोसी स्थायी घर भएका होनहार अधिकृत गुमाउनु परेपछि नेपाल प्रहरी र गृह प्रशासन शोकमा डुबेको छ । लामाको शव बोकेर दाहसंस्कार स्थलसम्म लैजाँदै गर्दा त्यहाँ उपस्थित प्रहरी अधिकृत र आफन्तहरू निकै भावुक बनेका थिए ।

















