Logo

४ बैशाख, काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो कोषमा रहेको मौज्दात रकमलाई सुरक्षित र प्रतिफलमुखी बनाउन विभिन्न बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

प्राधिकरणको ‘बैंक मौज्दात लगानी नीति’ अनुसार वाणिज्य बैंक तथा विकास बैंकहरूमा यो लगानी गर्न लागिएको हो ।

यस प्रक्रियाका लागि प्राधिकरणले इच्छुक बैंकहरूलाई आफूले दिन सक्ने अधिकतम ब्याजदर प्रस्ताव गर्दै आगामी ६ दिनभित्र सिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको छ । बैंकहरूले पेश गर्ने यस्तो प्रस्तावको मान्य अवधि कम्तीमा १५ दिनको हुनुपर्ने प्रावधान राखिएको छ । प्राधिकरणले लगानी गर्ने कुल रकम स्पष्ट नखुलाए पनि यो लगानी प्रतिस्पर्धी ब्याजदरका आधारमा गरिने जनाएको छ ।

निक्षेप प्राप्त गर्नका लागि बैंकहरूले आफ्नो वित्तीय स्वास्थ्य स्पष्ट पार्ने विभिन्न विवरणहरू पेश गर्नुपर्नेछ । जसमा पछिल्लो त्रैमासिक वित्तीय विवरण, विगत तीन वर्षको नाफा–नोक्सानको अवस्था, निष्क्रिय कर्जा, कर्जा निक्षेप अनुपात र पूँजी पर्याप्तता कोषको अवस्था खुल्ने कागजातहरू अनिवार्य गरिएको छ । प्राधिकरणले बैंकहरूको वित्तीय सबलता र प्रस्तावित ब्याजदरलाई मुख्य आधार बनाएर लगानीको निर्णय लिनेछ ।


सम्बन्धित समाचार